पलाँताको फेरी निर्माणमा चरम भ्रष्टाचार

साउन २,कालीकोट । कालिकोटको पलाँता गाउँपालिकास्थित घाटाचौरमा कर्णाली नदीमा फेरी निर्माणमा चरम भ्रष्टाचार भएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७र७८ को बजेटबाट उक्त स्थानमा फेरी निर्माणका लागि १ करोड रकम विनियोजन गरेको थियो । हालसम्म आधाभन्दा बढी रकम निकासा भईसकेको छ,भने पलाँता मल्टि प्रडक्ट एण्ड कन्स्ट्रक्सन प्रा।लिको नाममा फेरी निर्माणका लागि गठित उपभोक्ता समितिले ३१ लाख भन्दा बढी भुक्तानी गरिसकेको छ तर फेरी निर्माणमा चरम लापरवाही देखिएको छ ।फेरी निर्माण गर्ने भनिएको स्थानमा ५ लाख बराबरको काम पनि भएको देखिदैंन । यसरी फेरी निर्माणमा भएको चरम भ्रष्टाचारमा सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको छैन । फेरी निर्माणमा सम्भौता अनुसार काम नभईरहेको अवस्थामा पनि पलाँता गाउँपालिकाका पदाधिकारीहरु मौन बसेका छन् ।

घाटाचौरस्थित कर्णाली नदीमा फेरी निर्माणमा गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि स्थानीय बासिन्दाहरु निकै खुशी थिए तर बर्षौं बितिसक्दा पनि फेरी निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय बासिन्दाहरु निराश छन् । नदी तर्ने एक मात्र झुलुगे पुल हुँदा स्थानीय बासिन्दालाई आवतजावत तथा सामान ढुवानीमा समस्या हुँदै आएको छ ।

पुल बनाउन ठूलो खर्च तथा लामो समय पनि लाग्ने भएकाले तत्कालका लागि स्थानीय बासिन्दालाई आवतजावत सहज बनाउन फेरी निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । तर बर्षौ बितिसक्दा पनि फेरी निर्माणमा देखिएको ढिलासुस्तीले स्थानीय बासिन्दाहरु आक्रोशित देखिएका छन् । फेरी निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ । अख्तियारले पनि यसबारेमा अनुसन्धान जारी राखेको बताइएको छ