
श्रावण २१, काठमाडौं । नेपालमा कोरोना संक्रमण ४३ दिनयताकै उच्च विन्दुमा पुगेको छ ।पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितको संख्या ४,१०७ जना जेठ ९ गतेयता एक दिनमा पुष्टि भएका संक्रमितको उच्च संख्या हो । गत जेठ ८ गते ४,५२२ जना संक्रमित थपिएका थिए भने जेठ ९ गते २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको थियो
जेठ २० गते दोस्रो लहरको सबैभन्दा कम संक्रमित पुष्टि भएको थियो । उक्त दिन १ हजार ६०३ जना संक्रमित थपिएका थिए । त्यसयता लगातार कोरोना संक्रमण बढ्दो छ । साउन १ गते २ हजार ९३६ जना संक्रमित थपिएकामा साउन १२ गते ३ हजार ८९९ जना संक्रमित थपिएका थिए ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो बनेसँगै नागरिकको व्यवहारमा समेत परिवर्तन आउँदा संक्रमण बढ्दै गएको बताउनुभयाे ।
पछिल्लो समय टाउको दुख्ने, सामान्य ज्वरो आउनेलगायतका लक्षण भएका धेरै व्यक्तिहरु अस्पताल आउने क्रम बढेको र कतिपय व्यक्तिहरु स्वास्थ्यमा जटिलता भएर अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था समेत रहेको उहाले बताउनुभयाे।
‘दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दो छ । अस्पतालमा भर्ना हुने संख्या पनि तुलनात्मक रुपमा बढी नै छ । यी सबै कुराहरुले अब हामी तेस्रो लहरतिर अगाडि बढ्न थालेको हो कि भन्ने संकेत गरिरहेको अवस्था हामीले देखिरहेका छौं’ उहाले भन्नुभयाे।
१६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
साउन यता ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला बढ्दै गएको छ ।साउन १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्ला ९ थियो । तर साउन २० गते आइपुग्दा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला १६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
साउन १ गते मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित थिए ।पछिल्लो समय ५०० भन्दा बढी सक्रिय संक्रमित थपिने सात जिल्लामा मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, वाग्लुङ, गोरखा र रुपन्देही छन् ।
संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले धेरै भन्दा धेरै व्यक्तिहरुलाई परीक्षणको दायरामा आउन आग्रह समेत गनुभयाे । सरकारले कोरोना परीक्षण निःशुल्क रुपमा गर्दै आइरहेको भन्दै उनले चाँडो परीक्षणको दायरामा आउँदा संक्रमित व्यक्तिको पहिचान हुँदा अरुलाई संक्रमण सार्नबाट जोगाउन सकिने डा. अधिकारीको भनाइ छ ।
कोरोना महामारीको रोकथाम एवं नियन्त्रण गर्ने निर्विकल्प उपाय भनेको खोप लगाउनु र जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नु रहेको उहाकाे भनाइ छ ।खोप अभियान र जनस्वास्थ्य मापदण्डको पालनालाई सरकारले बढी जोड दिएको भन्दै डा. अधिकारीले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिनुभयाे ।



karnalipress
२१ श्रावण २०७८, बिहीबार ०६:०२