
कर्णाली प्रेस,कालीकोट । गैसस महासंघ कालीकोटको सातौं जिल्ला अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले हुरेन्डेक नेपालका ब्यवस्थापक दिलीप कुमार शाहीलाई अध्यक्षमा चयनगर्दै आगामी कार्यकालका लागि नेतृत्व तोकेको हो ।
महासंघको उपाध्यक्षमा भिडिसेफ नेपालका राजेन्द्र सहकारी,सचिवमा पेड्शन नेपालका रमेश नेपाली, यस्तै कोषाध्यक्षमा पार्वती चौलागाई पाण्डे, सदस्यहरूमा डिल बहादुर रोकाया, सोविना काफ्ले, मनभुजा परियार, सरला बम, भरत कुमार मल्ल र भरत पाण्डे चयन भएका छन् ।
अध्यक्ष शाहीले महासंघको आगामी कार्ययोजना प्रभावकारी रूपमा अघि बढाइने बताउँदै सामाजिक संस्थाहरूबीच समन्वयलाई बलियो बनाइने उल्लेख गरे। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
कालीकोटमा सम्पन्न अधिवेशनमा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गैसस महासंघलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अधिवेशनमा सामाजिक संस्थाहरूको सञ्चालन, नीति निर्माण, क्षमता अभिवृद्धि तथा भावी कार्ययोजनाबारे व्यापक छलफल भएको थियो ।
नयाँ नेतृत्व चयन भएसँगै जिल्लाका सामाजिक संस्थाहरूको भूमिकामा थप सक्रियता आउने अपेक्षा गरिएको छ । अध्यक्ष शाहीले अधिवेशनपछि महासंघको लक्ष्य, रणनीति र कार्यशैलीलाई व्यवस्थित गर्दै समाजसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ कार्यसमितिले सामाजिक संस्थाहरूसँग सहकार्यगर्दै स्थानीय तह, नागरिक समाज र अन्य सरोकारवालासँग मिलेर अघि बढ्ने बताइएको छ ।
karnalipress
१६ फाल्गुन २०८१, शुक्रबार १८:५०