
नरहरिनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। असार १० गते सम्पन्न १७ औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष कमल कुमार शाहले बजेट प्रस्तुत गरे ।
यस वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाको नाम परिवर्तन गरी “योगी नरहरिनाथ गाउँपालिका” राख्ने प्रस्ताव गरिएको छ। साथै, नरहरिनाथलाई नगरपालिका बनाउने पहल संघीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढाइने जनाइएको छ।
“स्थानीय तहको जिम्मेवारी, मिशन रोजगारी, सरोकारवालाको साझेदारी” नारासहित यो वर्षको कार्यदिशा तय गरिएको छ। सम्पूर्ण पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार पार्ने, सडक गुरुयोजना निर्माण गर्ने र निर्माणाधीन रिङ्गरोडको कामलाई तीव्रता दिने जनाइएको छ। पालिकाभित्र यातायात पहुँच विस्तार गर्न सडक एम्बुलेन्स कार्यक्रमलाई निरन्तरता दिइनेछ।
कुमालगाउँस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई “योगी नरहरिनाथ आधारभूत अस्पताल” घोषणा भइसकेकोले अब त्यसको निर्माण कार्य अघि बढाउन संघीय सरकारसँग समन्वय गरिनेछ। सूचना प्रविधिको प्रयोग बढाउँदै आगामी साउनदेखि दर्ता चलानी, योजना व्यवस्थापन, बैठक प्रणाली, मासिक प्रगति प्रतिवेदन, जेष्ठ नागरिक तथा अपाङ्ग विवरण अभिलेख प्रणाली जस्ता सफ्टवेयरहरू सञ्चालनमा ल्याइनेछ। वडा सचिव र शाखा प्रमुखलाई तालिम दिइनेछ।
विद्यालय विकासका लागि नन्दादेवी मावि कोटवाडा, रमा मावि कालाशिल्ला, जनता मावि रुप्सा, शान्ति मावि रातिमाटा, नन्दादेवी मावि सेरापाटा र जनप्रभात मावि लालको गुरुयोजना तयार गरिनेछ।



karnalipress
११ असार २०८२, बुधबार १०:१८