
ललित विष्ट, कालीकोट । रास्कोट नगरपालिका —८ को जनजागृति माध्यमिक विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा निरुता उपाध्याय महिनावारीको समयमा एक वर्षअघिसम्म घरमै बस्ने गरेकि थिइन् । पाँच देखि सात दिनसम्म विद्यालय कक्षा छोड्नुपर्ने बाध्यता उनको थियो । उनीमात्र होइन उनी जस्तै महिनावारी हुने छात्राले यस्तो पिडा खेप्नु परेको थियो । महिनावारीको समयमा हुने अप्ठ्यारोका कारण रास्कोटका विद्यालयमा महिनावारी आराम कक्ष स्थापनापछि छात्रालाई धेरै सहज भएको छ। घरको वातावरण भन्दा विद्यालयमा महिनावारी आराम कक्षले धेरै सहज भएको छात्रा मिरा संज्यालले बताइन् । उनले भनिन् ‘विद्यालयमा महिनारीको समयमा प्रयोग हुने, सेनेटरी प्याड, आराम गर्नका लागी वेड, हट व्याग, लुगा बदल्ने लगाएत महिनावारी हुदा धेरै सहज भएको छ।’ उनका अनुसार विद्यालयमा आराम कक्षसहित सेनेटेरी प्याड र प्रयोग गरेपछि डिस्पोज गर्ने समेत व्यवस्था भएकाले कक्षा छाड्ने दरमा कमी आएको छ।
महिनावारी आरम कक्षले महिनावारी छात्रालाई धेरै सहज बनाएको जनजागृति माविकी शिक्षिका कुसला संज्यालले बताइन् । ‘विद्यालयमै महिनावारी भए छात्राले छुट्टि माग्ने गरेका थिए,’ उनले भनिन्, ‘तर अहिले महिनावारी आरम कक्षमै आराम गर्छन,उनीहरूको पढाइ पनि नियमित भएको छ ।’ रक्तश्रावका कारण किशोरीमा विभिन्न कमजोरी देखिने उनी बताउँछिन् । महिनावारी आरम कक्ष निर्माण गरिएपछि अन्य विरामी छात्रछात्रालाई पनि सहज भएको उनको भनाई छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकको कालाशिल्ला मावि गोर्खाली गाउँ,जनजागृति मावि फुकोट,सुन्दर आ.वि. रामपुर,मालिका आ.वि कोलिगाउँका विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको छ। महिनावारी भएका छात्राका लागि विद्यालयमा एउटा छुट्टै कोठाको व्यवस्था गरिएको छ । उक्त कोठामा बेड, सेनेटरी प्याड, प्रयोग गरेको प्याड फाल्ने भाँडालगायतको व्यवस्था गरिएको कालासिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागईले बताए । ‘धार्मिक कुरीती तथा संस्कारमा अल्झिनु र अझै खुलेर आउन नसक्नुले छात्राहरू बढी प्रभावित भएका छन्,’ उनले भने, ‘महिनावारी भएको समयमा अहिले छात्राहरू आराम कक्षमा जान्छन्, केही समस्या परे प्राथमिक उपचारको समेत व्यवस्था गरिएको छ ।’ ‘उनीहरूलाई केही समस्या परे आवश्यक परामर्श दिन एकजना शिक्षिका सहजर्कता छन्,’ महिनावारी भएका छात्राका लागि रास्कोटका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको छ ।
छात्रामैत्री शौचालयका कारणसमेत छात्राको पठनपाठन सहज बन्दै गएको छ। अहिले रास्कोट नगरपालिका ४ वटा विद्यालयमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपालको सहजिकरणमा संचालित रास्कोट ‘महिनावारी स्वास्थ्य स्वच्छता र खानेपानी तथा सरसफाइ स्वच्छता ‘च्ःध्क्ष्ए’ परियोजना’ अन्तर्गत ४ वटा विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरीएको हुरेन्डेक नेपालका कार्यक्रम संयोजक सुर्य रोकायाले बताए । उनले भने कक्षा ६ देखि १० कक्षासम्मका छात्रालाई महिनावारी आराम कक्षले सहज भएको बताए उनका अनुसार छात्राहरुको महिनावारीको बेला विद्यालयमा निरन्तरता र पढाइमा पनि झन सुधारभई नतिजामा पनि थप सहयोग भएको बताए । विगतमा आराम कक्षको व्यवस्था नभएको तथा पर्याप्त मात्रामा सेनेटरी प्याडको पनि व्यवस्था नभएकोले छात्राको विद्यालय उपस्थिति दरमा पनि कमी हुने गरेको थियो । आराम कक्षको व्यवस्था भएकाले छात्राहरुलाई सहज थपिएको छ ।



karnalipress
१४ असार २०८२, शनिबार १८:२३