
भाद्र १९,काठमाडौं। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्षमा गगन थापाको विषयलाई लिएर विवाद देखिएको छ । पौडेल पक्षको पत्रकार सम्मेलनमा कृष्णप्रसाद सिटौला पक्षका गगन थापा इन्ट्रीपछि विवाद सतहमा आएको हो ।
महामन्त्रीको उम्मेदवारी घोषणा गरेर थापालाई पौडेल समूहमा बोलाइएपछि रामशरण महत र मिनेन्द्र रिजाल लगायतका नेता रुष्ट भएका छन् ।
गगन थापालाई सबै नेताले काखी च्याप्ने गरेको भन्दै उनीहरु असन्तुष्ट भएका बुझिएको छ । पौडेलका लागि पाँच वर्ष आफूहरुले काम गरेको भन्दै महाधिवेशनको मुखमा गगनलाई महामन्त्री बनाउने गरी भित्र्याउन नहुने उनीहरुको भनाइ छ ।
महतलाई पौडेलले र रिजाललाई शशांक कोइरालाले महामन्त्रीका रुपमा अगाडि सार्न योजना थियो । २ जना महामन्त्रीका उम्मेदवार तय गर्नुपर्नेमा गगन पनि पौडेल समूहमै थपिएपछि उनीहरु सकसमा परेको स्रोतले बतायो ।
शेखर कोइराला र अर्जुननरसिंह केसीको जोडबलमा गगनलाई पौडेल समूहमा प्रवेश गराइएको छ । पछिल्लो समय शेखरलाई गगनले साथ दिँदै आएका छन् भने केसी उनको ससुरा हुन् ।



karnalipress
१९ भाद्र २०७८, शनिबार २०:१८