
श्रावण २२,काठमाण्डाै – चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रवार सार्वजनिक गरेको नतिजाअनुसार दुई सय पूर्णाङ्कमा झाले एक सय ८६ अङ्क ल्याएका छन् ।
एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार विद्यार्थी सहभागी भएका थिए । सबैलाई उछिन्दै सर्वोत्कृष्ट भएका झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाउने छन् ।
झाले काठमाण्डौको विश्व निकेतन स्कुलमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढेका हुन् । कक्षा १२ मा समेत उनी उत्कृष्ट अङ्क ल्याउँदै उत्तीर्ण भएका थिए । आशिकले एसईई भने जनकपुरको श्री माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् ।
विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले आशिक सिर्जनशील र मेहनती विद्यार्थी भएको बताउनुभयो । विद्यालयले झालाई सम्मान पनि गरेको छ ।



karnalipress
२२ श्रावण २०७८, शुक्रबार १९:२७