
भाद्र १,काठमाण्डाै – नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरूले माधव नेपाल पक्षलाई माफी नदिने बताएको छ । मङ्गलवार काठमाण्डाैमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्विप उल्लङ्घन गर्नेलाई माफी दिन नसकिने बताउनुभएको हो ।
सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको ‘इथिक्स’ बाहिर भएकाले त्यसकाे विरोध गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दलीय व्यवस्थामा दलको अनुशासन र ह्विप उल्लङ्घन गर्ने कुरालाई माफी दिन सकिँदैन, पार्टीभित्रको कारबाहीको कुरा स्वाभाविक हो, पार्टी विरोधी गतिविधि गर्नेहरूलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ, पार्टीको विरुद्धका गतिविधिमा लाग्नेहरूलाई पार्टीले कारबाही गरेर अगाडि बढ्न सक्नुपर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्योअनुसार पार्टी अगाडि बढ्छ ।’
उहाँले याे अध्यादेश एमालेलाई ‘टेक डाउन’ गर्नका लागि ल्याइएको आरोपसमेत लगाउनुभयो ।



karnalipress
१ भाद्र २०७८, मंगलवार १९:०७