
भाद्र ३ ,दैलेख : स्वास्थ्य सेवा कार्यालय, दैलेख अस्पतालमा बुधवारदेखि २५ शैयाको एचिडयू वार्ड सञ्चालनमा आएको छ । अस्पतालमा गम्भीर बिरामी राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालनमा आएको हो ।संघीय सरकारले पठाएको ३ करोड १२ लाख ७० हजार रुपैयाँ मध्ये ठेक्का प्रक्रिया मार्फत २ करोड ८० लाखको लागतमा एचडियू सञ्चालनमा आएको हो ।
सामग्रीहरु खरिद गरेर जडान गरेसँगै २५ बेडको एचडियू सञ्चालनमा ल्याईएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार २५ बेड मध्ये ५ बेड आइसोलेसन बार्ड र २० वटा बेड अस्पतालमै जडान गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा कोरोनाका बिरामीलाई उपचार गर्ने प्रयोजनका लागि निर्माण गरिएको आइसोलेसन बार्डमा जडान गरिएको एचडियूले कोरोना संक्रमितको उपचारमा सहज हुने रेग्मीले बताउनुभयो।
एचडियू सञ्चालनमा आएसँगै अब सामान्य बेडमा उपचार सम्भव नहुने बिरामीलाई एचडियू (हाई डिपेन्डेन्सी युनिट) मा राखेर उपचार गरिने दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिनुभयो ।



karnalipress
३ भाद्र २०७८, बिहीबार ०६:२७