उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने

भाद्र,२१ काठमाण्डाै ।  काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदाे असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि पालिकाहरूले डीसीसीएमसीसँगको समन्वयमा विद्यालय खोल्न पाउने व्यवस्था रहेकाले आज समन्वयात्मक बैठक बसेको र अब पालिकाहरूले विद्यालय खोल्न पाउने उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूले लिने छन् ।बैठकमा विद्यालयहरूले अहिले ४० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै विद्यालय खोल्न ढिला गरेमा धेरै विद्यार्थी पढ्नबाट वञ्चित हुने बताएका थिए ।