२८ भाद्र नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो।
आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन्। केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन। मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए।
‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भनिन्। मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको उनले बताईन्। लामाका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ। आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको लामाले सुनाईन्।
‘पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई/तीन दिनदेखि प्रायः भेटिन्छन्, हामीले धेरै पटक बाघलाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ,’ उनले भनिन्, ‘बाघले हाम्रो गाउँमा आतंक मच्चाईरहेको छ, हामी धेरै नै त्रसित भएका छौं।’
घटनास्थलमा अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा भेला भएका छन्। राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री पनि घटनास्थलमा पुग्दैछन्। RSS
karnalipress
२८ भाद्र २०७८, सोमबार १७:०६