
असोज १५,काठमाडौं। एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा पाँच जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । यसअघि एमालेमा चार जना उपाध्यक्ष रहेकोमा सङ्ख्याबारे छलफल हुँदै आएको थियो ।
त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव गरिएको छैन । अहिले एमालेमा दुई जना उपमहासचिव छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा पाँच जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी दुई सय २५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ ।
त्यस्तै एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।
ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा एमालेकाे विधान महाधिवेशन सुरु भएकाे हाे । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो । तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।
karnalipress
१५ आश्विन २०७८, शुक्रबार १६:३९