दसैं बिदा मनाउन गएका आठै जनाको दुर्घटनामा मृत्यु,

काठमाडौं,असोज २५ । घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला रहेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा आज दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदै थिए ।

चालकसहित ९ जना सवार जिपमा रहेकी २० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ । उनको अवस्था सामान्य छ । मृतक जिल्लप घिसिङ उनको भाइ हुन् । भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए । जिपको पछाडिको ढोका खुल्दा उनी भीरको बीचको रुखमा अड्किएकी थिइन् ।