रुकुम पश्चिममा स्थानीय युवा र प्रहरीबीच झडप, सात जना प्रहरी घाइते

असोज  ३०,रुकुम पश्चिम। रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना प्रहरी घाइते भएका छन् ।गएराति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहाेरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते भएका  सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ  । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १  बागबजार नजिकै  पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो । घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको  छ ।  चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।