राकममा अक्सिजन प्लान्ट जडान

राकमकर्णाली आधारभुत अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन गरिँदै।

ललित विष्ट फागुन ९, कालिकोट । दैलेखको आठबिस नगरपालिकाको आधारभूत अस्पताल राकममा अक्सिजन प्लान्ट जडान गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो।

अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण,विद्युतिय प्रशारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह,प्रतिनिधिसभा सदस्य सोविता गौतम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल आठबिस नगरपालिकाका मेयर तर्कबहादुर बडुवाल,उप–मेयर कल्पना थापालगायतको उपस्थितीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो।

अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए। अक्सिजन प्लान्ट उद्घाटनमा आठबिस नगरपालिका मेयर तर्कबहादुर बडुवालले दुर्गम क्षेत्रको स्वाथ्य सुधारको लागी र दैलेख,कालिकोट,बाजुरा,अछाम लगायका भेगका नागरिकको सहजताको लागी लागी आवश्यकता रहेकाले अक्सिजन प्लान्ट जडान गरिएको बताए।

उप–मेयर कल्पना थापाले स्वास्थ्य सुधारको लागी सबैले लगानी गर्न आवश्यक रहेको बताइन्। राकम कर्णालीमा अक्सिजन प्लान्ट जडान भएपछी दैनिक १ सय ३० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताइएको छ।