नेपालमा नर्सिङ पेसाको अवस्था

शान्ता अधिकारी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला।

फ्लोरेन्स नाईटेङ्गेल “लेडि विथ ए ल्याम्प”नचिन्ने सायद कमै मानिस होलान,जसले आधुनिक नर्सिङ पेसाको शुरुवात गरिन ।नाइटेङ्गलको योगदानको कदर गर्दै हरेक बर्ष मे १२अर्थात उनको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने भनी विश्व स्वास्थ्य संगठनले १९७४मा घोषणा गर्यो त्यसपछि बिश्वभर नर्सिङ दिवस मनाउन शुरु गरियो र मे ६ देखि १२ सम्म नर्स दिवसको रुपमा मनाइन्छ।

उनकै पदचापलाई पछ्याउँदै अघि बढेको नर्सिङ सेवा आज विश्व स्वास्थ्य क्षेत्रको अभिन्न र अति महत्वपूर्ण हिस्साको रूपमा स्थापित भइसकेको छ । स्वास्थ्य सेवाको कुरा गर्दा नर्स बिनाको सेवाको कल्पना गर्न सकिँदैन। नेपालको स्वास्थ्य क्षेत्रमा पनि नर्सको निकै महत्वपूर्ण भूमिका छ ।

 

नर्सिङ भनेको त्यो सेवा हो, जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने, स्याहारसुसार गर्ने, रोगबाट बचाउने र पुनर्स्थापना (Preventive, curative and rehabilitation) गर्ने कार्य गर्दछ। यस्तो संवेदनशील क्षेत्रमा धेरै समस्याहरू छन् तर ती समस्याका बारेमा सम्बन्धित निकायहरूको खासै ध्यानाकर्षण भएको देखिँदैन। नेपालमा नर्सिङ रोजगारीको समस्या अहिले बिकराल हुँदै गएको छ।

कुनै अस्पतालले निश्चित सङ्ख्यामा, करारमा, नर्स नियुक्ति गर्न भनी आवेदन मागेको हुन्छ तर बेरोजगारीका कारण हजारौँ ले आवेदन दिएका हुन्छन् अन्तिममा छनोटमा राजनीतिक प्रभाव,आफन्त हरु हेरे र छनोट हुदा नर्सहरु नै निराश हुन पुग्छन। आँकलन गर्न सकिन्छ देशमा विद्यमान रोजगारी कै समस्याका कारण नर्सिङको दक्ष जनशक्ति ठूलो परिणाममा विदेशी रहेका छन यसलाई रोक्न सरकारले पनि उचित काम दिन सक्नुपर्छ ।

जागीर हुनेले पनि उचित तलब पाउँदैनन्। नर्सहरू आफ्नो पीडा खुलेर साट्न सक्दैनन् र चाहँदैनन् किनकि एकातर्फ आफूले काम गरिरहेको संस्थाको विरोध गर्दा जागीर जाने डर छ भने अर्कोतर्फ आफ्नो अवस्थाबारे बोल्दा जागी नपाउने समस्या छ। यसैगरी नर्स बिरामीको अनुपात नमिल्दा कामको ओभरलोड हुने, कम तलब, सरकारीमा तलब राम्रो भए पनि नीजिमा ५ देखि १० हजासम्म तलबमा पनि काम गर्न बाध्य छन्। र धेरैजसो अस्पतालहरुमा काम गर्ने सहज वातावरण पनि हुँदैन। त्यसैले नर्सहरु मानसिक शारीरिक तनाव र श्रमशोषणमा परिरहेका छन्। जसको कारण बिरामीहरूले पनि गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन्।

नेपालमा लाखौँ (५ देखि १५ लाखसम्म) खर्च गरेर नर्सिङको प्रवीणता पत्र तह,स्नातक तहकाे अध्ययन गर्नुपर्ने अवस्था छ। अध्ययन सकेर जब काम गर्ने समय आउँछ यी यावत् समस्याहरूको सामना गर्नुपर्छ। अब अवस्था यस्तो सम्म भैसक्यो कि लिखित परीक्षा, अन्तरवार्ता लिएर नर्स राख्नुपर्ने ठाउँमा हुलमुलमा ठेक्का पट्टामा नर्स राख्ने जस्ता कार्यहरु भइरहेका छन् यस्तो कार्यको अन्त्य हुनु आवश्यक छ।

विश्व स्वास्थ संगठनको मापदण्डअनुसार, नर्स ९ बिरामी अनुपात जनरल वार्डमा १ नर्स ४ देखि ६ विरामी, सुत्केरी वार्डमा २ नर्स र १ वेड, ICU/CCU मा १ नर्स १ बिरामी, पोष्ट अपरेटिभ थिएटरमा १ नर्स १ विरामी, अपरेशन थिएटरमा १ टेबल ३ नर्स हुनुपर्ने निर्धारण गरेको छ ।

नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको यही मापदण्डमा हस्ताक्षर गरेको छ र ‘स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका’ मा पनि स्पष्ट रूपमा बिरामीको अवस्था अनुसार नर्स–बिरामी अनुपात तोकिएको छ, जसमा जनरल वार्डमा ५ देखि ६ बिरामी बराबर एक नर्स त्यसैगरी, हाइ डिपेन्टिक वार्डमा २ बिरामी बराबर एक नर्स र क्रिटिकल केयरमा एक बिरामी बराबर एक नर्स हुनुपर्छ ।

त्यस्तै, डेलिभरी गराउने ठाउँमा एक बिरामी बराबर २ जना नर्स र अप्रेसन थिएटरमा एक बिरामी बराबर ३ जना नर्स हुनुपर्ने मापदण्ड निधार्रण गरेको छ । तर विडम्बना, नेपालका ठूला सरकारी अस्पतालमै यो मापदण्ड अनुसार नर्सिङ जनशक्ति उपलब्ध छैन नाफा मुखी निजी अस्पतालको त कुरै नगरौँ नेपालमा कोरोना को पहिलो लहर नसकिदै दोस्रो लहर शुरु भयो जब देशभरि बन्दाबन्दी भयो कतिपय निजी अस्पतालहरुले कोरोना निहुँ बनाउँदै जर्बजस्ती नर्सहरुलाई कामबाट निकाल्ने समेत काम गरे!जब निजी अस्पतालमै पनि कोरोनाका बिरामीको उपचार गर्नुपर्ने अवस्था सिर्जना भयो अनि फेरि नर्सको जागीरको लागि विज्ञापन निकालियो।

सिधा रुपमा हेर्दा ‘चाहिँँदाको भाँडो नचाहिँदाको घाँडो’ भन्ने नेपाली उखान जस्तै भयो, तर कोरोना होस् अथवा अरु कुनै स्वास्थ्य महामारी युद्द मैदानमा केही नभनी होमिने स्वास्थ्यकर्मीहरु नै हुन। स्वास्थ्यकर्मीले जोखिम मोलेर भोक, निन्द्रा, परिवार, स्वयम् आफ्नो स्वास्थ्य,जिन्दगीको केही प्रवाह नगरि संक्रमितलाई ठिक पार्न निरन्तर खटिन्छन् लागी पर्छन्।

त्यसमा पनि अझ नर्सहरु त रात दिन बिरामी सँगै हुन्छन् । रोगीलाई बाँच्नुपर्छ भन्दै हौसला दिने तथा रात र दिन नभनी उनीहरुको निगरानी गर्ने जिम्मेवारी वहन गरिरहेका हुन्छन् अस्पतालमा २४ सै घन्टा सेवा गरिरहेका नर्स हरुको टिम, थकानलाई भुइँमा बसेर मेटाउदै होस वा PPE / Sanitizer को Allergy काे पिडालाई समेत वास्ता नगरी COVID Critical बिरामीको निरन्तर सेवामा लागि परेका हुन्छन।

स्वास्थ्य महामारीको युद्ध मैदानमा त्यसरी खटिएर काम गरिरहेका नर्सहरुको लागि संघीय सरकार प्रदेश सरकार र स्थानीय निकायसम्म ले गर्नुपर्ने प्रोत्साहन गरेको देखिदैन ? महामारीको लडाईँमा स्वास्थ्यकर्मीको भूमिका प्रमुख रहने हुँदा सरकारले स्वास्थ्यकर्मीलाई अधिकतम प्रयोग गर्न उनीहरूको मनोबल बढाउने काम गर्नुपर्छ। सरकारले घोषणा गरेको जोखिम भत्ता,तलब सबै नर्सहरुले अहिलेसम्म पनि पाउन सकेको अवस्था छैन ।

सरकारले गर्ने गरेको यस्तै हर्कतका कारण स्वास्थ्य जस्तो संवेदनशिल पेशामा सरोकारवाला क्षेत्रबाट भएका र गरिएका यस्ता असंवेदनशील क्रियाकलापले कहिलेसम्म उच्च मनोबलका साथ सेवा प्रदान गर्न सकिएला ? नेपालमा अध्ययन गर्ने नर्स सङ्ख्या बढ्दो छ।नेपालमा अहिले बर्सेनि ७ हजार नर्स उत्पादन हुन्छन् मापदण्ड अनुसार नर्स राख्ने र नर्स-बिरामी अनुपात मिलाउने हो भने सरकारी अस्पतालमा मात्रै ३० हजार नर्स चाहिन्छ । तर देशभरको सरकारी सबै स्वास्थ्य संस्थामा १२ हजार नर्स पनि छैनन् । ३० हजार नर्स चाहिने ठाउँमा १२ हजारले कसरी सेवा दिन सक्छन् ? भएकै नर्सहरू पनि धेरै सहर केन्द्रीत छन्।

हरेक विद्यालयमा एक नर्स राख्ने शिक्षा मन्त्रालयले ल्याएको नीतिअनुसार काम गर्ने हो भने नेपालमा नेपालमा अहिले ३४ हजार विद्यालय छन् ३४ हजार नर्सले रोजगारी पाउनेछन्। त्यस्तै गुणस्तरीय नर्सिङ सेवाका लागि गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन हुनु अत्यावश्यक छ। जसका लागि गुणस्तरीय नर्सिङ शिक्षामा जोड दिनुपर्छ।

यसका लागि सम्पूर्ण आधारभूत सुविधा भएका नर्सिङ कलेज अनि दक्ष शिक्षक, शिक्षिका, तथा अध्यनका लागि सकारात्मक वातावरण छ कि छैन भन्ने बिषयहरुमा नर्सिङका संघ संगठनहरुले अझै विषेश ध्यान दिनु अत्यावश्यक देखिन्छ। खासगरी, उही क्षमता र योग्यताका एक नर्सले सरकारी सेवामा ठिक ठिक्कैको तलब,सुविधा पाउने तर निजी क्षेत्रमा भने अत्यन्तै न्यून सेवा सुविधामा काम गर्नुपर्ने शोषणयुक्त अवस्था विद्यमान देखिन्छ । यसलाई अन्त्य गर्नका लागि र नेपालमा नर्सहरुको पेशागत अधिकार, न्यायोचित श्रम मुल्य र सम्मानजनक सामाजिक आधार तयार गर्न सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ।