डिभिजन वन कार्यालय सुर्खेतमा दुई जना कार्यालय प्रमुख

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको रुपमा दुई जना हाजिर भैरहेको पाइएको छ । कार्तिक २२ गतेदेखि दुई जनाले कार्यालय प्रमुखको रुपमा कामकाज गर्दै आएका छन् ।

कार्यालय प्रमुख गोविन्द प्रसाद दाहालले सम्हाल्दै आएपनि उनको ठाउँमा मूनबहादुर रावत सरुवा भै आएका छन् । रावत कार्तिक २२ गतेदेखि कार्यालयमा हाजिर भएका छन् । उनि यसअघि प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको योजना उपशाखा प्रमुखको रुपमा कार्यरत थिए ।

कार्यालय प्रमुखको रुपमा रावत हाजिर भैसक्दा पनि दाहालले हालसम्म रमना बुझिलिएका छैनन् । दाहाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमै सरुवा गरिएको छ ।

‘म कार्तिक २२ गतेदेखि हाजिर भैरहेको छु । मन्त्रालयबाट कार्यालय प्रमुखको रुपमा कामकाज गर्ने गरी सरुवा गरिएको हो ।’ रावतले दुल्लूखबरसँग भने, ‘दाहाल सरको रमना नबुझेकोले उहाँको सरुवा हुन सकेको छैन । आज रमना बुझेपछि भोली बिदाई कार्यक्रम राखिएको छ ।’

डिभिजन वन कार्यालय प्रमुख गोविन्द प्रसाद दाहालले आफ्नो कार्यकालमा विवादित बनेका थिए । उनको कार्यकालमा काँक्रेविहार संरक्षित वनक्षेत्रको पर्खाल निर्माण, उक्त वन क्षेत्रमा आफ्नै कार्यालयका कर्मचारी वन रक्षक हटाएर प्रहरीलाई जिम्मा दिने, प्रशान्ती धार्मिक वनमा ठेकेदारको रजाई, सडक निर्माणमा अनियमितता, अदुवा बेसार कार्यक्रममा अनियमितता, दिनेश स्मृति पार्क निर्माण लगायतका विषयमा विवादित बनेको थिए ।