देशको धेरै जनसंख्या नेकपा एमालेको साथमा छ : ओली

श्रावण १०,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताउनु भएको छ ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उहाँले ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

उहाँले भन्नु भयो, ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’ एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताउनुभएको थियो ।

नेता नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाउनु भयो । अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताउनु भयो ।