
१८ मंसिर,सुर्खेत। कर्णाली प्रदेशमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने तथा जाँच गराउनेको संख्या बढ्दै गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो तथ्याङ्क अध्ययन गर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो ।
स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामिण भेगका पनि महिलाहरु स्वास्थ्य संस्थामा जान थालेका छन् । घरमै सुत्केरी हुँदा जोखिम हुने भएकाले स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतना बढेकाले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या हो ।
पछिल्लो समय स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र जाँच गराउनेको संख्या बढेको निर्देशनालयले जनाएको छ । प्रदेशमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या आर्थिक वर्ष २०७५/२०७६ मा ७३ दशमलब २ प्रतिशत, २०७६/२०७७ मा ७७ दशमलब ५ प्रतिशत, २०७७/२०७८ मा ८७ प्रतिशत रहेको छ । स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ जाँच गराउनेको संख्या ७६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा ६१ दशमलब ८ प्रतिशत, २०७६/२०७७ मा ६५ दशमलब ६ प्रतिशत र २०७७/२०७८ मा ७६ प्रतिशत पुगेको हो ।
निर्देशनालयका वरिष्ठ कम्युनिटी नर्सिङ्ग अधिकृत मानकुमारी गुरुङ्गले विगतका वर्ष भन्दा पछिल्लो समय स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूती हुनेको संख्या बढेको बताइन् । यसले आमा र बच्चा दुवैमा हुने जोखिम कम भएको उनको भनाई छ । नागरिकहरुमा पनि जनस्वास्थ्य प्रति सचेत हुन थालेकोले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढेको उनले बताइन् । उनले भनिन्, ‘नागरिकहरुमा जनस्वास्थ्यप्रति सचेत हुँदै गएका छन् । आमा र बच्चाको सुरक्षा हुन्छ भनेर पनि स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतना बढेको छ । ’
सरकारले सुरक्षित मातृत्व कार्यक्रम संचालन गरेको छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेलाई यातायत खर्च, पोष्ण कोसेली वितरण गर्नेलगायतका कार्यक्रम रहेका छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा निशुल्क प्रसूती सेवा र यातायात खर्च दिनुका साथै प्रदेश र स्थानीय सरकारले पनि थप सुविधा दिएकाले महिलाहरुलाई सहज भएको उनको भनाई छ ।
संघीय सरकारले हिमाली जिल्लामा तीन हजार, पहाडी जिल्लामा दुई हजार र तराईका जिल्लामा एक हजार यातायत खर्च दिँदै आएको छ । स्वास्थ्य संस्थामा आएर चार पटक जाँच गराए पछि थप आठ सय दिँदै आएको छ । कर्णाली प्रदेश सरकारले थप दुई हजार दिँदै आएको छ । स्थानीय तहले पनि सुत्केरी भेटघाट, न्यानो कपडा, कोसेली वितरणलगायतका कार्यक्रमले पनि सहयोग गरेको उनले बताइन् ।
karnalipress
१८ मंसिर २०७८, शनिबार १८:४९