तिलागुफामा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका– ३ मा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटको आयोजनामा तिलागुफामा शिविर सञ्चालन गरिएको हो ।

वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले अम्लपित्त, दम, खोकी, ज्वरो ,पिसावसम्बन्धि समस्या, स्त्री रोग, फिस्टुला, पायल्स, कपालसँग सम्बन्धित समस्याबारे उपचार, नाक, कान, घाँटी,बाथरोग, बालरोगलगायत विभिन्न समस्याहरुको उपचारका लागि शिविर सञ्चालनमा ल्याएको बताए ।

कार्यालय प्रमुख बिरेन्द्रकुमार केसीले ३२६ जनालाई विभिन्न रोगको उपचार तथा परामर्श सेवा प्रदान गरेको बताए । आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटका डाक्टर नमराज बोहराले बाथरोगका बिरामी, अम्लपित्त, जन्डिस, रगत बग्ने, महिलाको पाठेघरसम्बन्धि समस्या बढीरहेका बिरामीहरुले उपचार सेवा लिएको बताए ।

उनले २९ वर्षदेखि ६० वर्ष उमेर समूहका बिरामीहरुले बढी सेवा लिएको बताए । निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटका प्रमुख केसीको अध्यक्षता, महादेव उच्च माध्यमिक विद्यालयका प्राचार्य नरदिप शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । घर–घरमै निःशुल्क उपचार पाउँदा नागरिक हर्षित भएको उनले बताए ।