
नौरते नेपाली, पुष ६,जुम्ला । जुम्लाको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना दृष्टि विहिन विद्यार्थीलाई न्यानो कपडा पाएका छन् । सिंजा गाउँपालिका वडा नम्बर ३ नराकोटमा रहेको उक्त विद्यालयमा विशेष कक्षा संचालन भएको छ । सोहि विद्यालयमा दृष्टि विहिन विद्यार्थीलाई चिसोबाट बच्नको लागि न्यानो कपडा दिईएको हो ।
प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित कर्णाली शिक्षा परियोजना अन्तर्गत दृष्टि विहिन विद्यार्थीलाई कपडा वितरण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक रविन प्रसाद शर्माले बताए । मौसम परिवर्तन भएसँगै जुम्लामा चिसो बढ्दै गएको हुनाले दृष्टि विहिन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ ।
जाडोको समयमा आफुले गरेको सहयोगले दृष्टि विहिन विद्यार्थीलाई राहत हुने अपेक्षा गरेको शर्माले जानकारी गराए । ब्रेल पेन २५ थान, स्पीकर र पेनड्राइप १÷१ थान, फिल्टर २ थान, फाइबर सिरक १२ थान, तन्ना १२ थान, डस्ना १२ थान, सिरानी १२ थान, उनको टोपी १२ थान, जुत्ता १२ थान, मोजा २५ थान, ट्रयाकसुट २५ थान, बाक्लो ज्याकेट १५ थान, बल्याङ्गकेट १२ थान र पञ्जा २५ थान गरी जम्मा ४ लाख ८२ हजार रुपैयाँ बराबरको न्यानो कपडा उपलब्ध भएको उनको भनाइ छ ।
शारीरिक दृष्टि विहिन विद्यार्थीलाई जाडोको समयमा न्यानो गर्ने उद्देश्यले कपडा वितरण गरेको किर्डाक नेपाल जुम्लाले जनाएको छ । स्रोत शिक्षक दत्तवहादुर बुढा र शिक्षक जयकृष्ण चौलागाई र दृष्टि विहिन विद्यार्थीका अभिभावक सरस्वति चौलागाईको रोहोबरमा न्यानो कपडा हस्तान्तरण गरिएको छ । चिसाको समयमा न्यानो कपडा पाउदा दृष्टि विहिन विद्यार्थी खुसी भएका छन् । पुरा शरीर ढाक्ने कपडा भएपनि पनि चिसोमा बाक्लो ज्याकेट, जुत्ता र ओड्ने ओछ्याउने राम्रो नहुँदा समस्यामा परेका विद्यार्थीलाई सहज भएको छ । दृष्टि विहिन विद्यार्थी विर्षा न्यौपानेले चिसो समयमा न्यानो कपडा दिने दातालाई धन्यवाद दिइन ।
विद्यालयमै आएर जाडोको मौसममा न्यानो कपडा दिएकोमा उहाँले खुसी व्यक्त गरिन् । उनले भनिन, जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । दृष्टि विहिन अर्का विद्यार्थी बसन्त शाहीले चिसोमा कपडा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै दातृ निकायप्रति आभारी भएको प्रतिक्रिया दिए । उनका अनुसार शरीरमा लगाएको कपडाले खासै तातो नभएको भन्दै अब चिसोबाट छुटकारा मिलेको बताए । भैरव मावि नराकोटका शिक्षक जयकृष्ण चौलागाईले दृष्टि विहिन र असाय विद्यार्थीका लागि सहयोग गर्ने निकाय भगवान भएको बताए ।
डाँडामा रहेको विद्यालयमा हावा चल्ने हुँदा दृष्टि विहिन विद्यार्थीलाई समस्या थियो उनले भने, अब हावा छेक्ने र जाडो छल्ने कपडा पाएकाले राहत पुगेको छ । जुम्लाको तापक्रम माइनसमा झरेको बेला घर बाहिर राखेको पानी जम्ने समयमा विद्यालयको भवनमा बसेका दृष्टि विहिन विद्यार्थीले प्राप्त गरेका कपडाले न्यानो हुने उनको भनाइ छ । स्रोत शिक्षक दत्तवहदुर बुढाले चिसोमा कपडाको समस्या भएका दृष्टि विहिनका लागि सहयोग गर्ने निकाय प्रति आभारी भएको बताए ।
दृष्टि विहिन विद्यार्थीको समस्यालाई हल गर्नको लागि सहयोग भएको उनको भनाइ छ । आगामी दिनमा पनि दृष्टि विहिन विद्यार्थीका लागि शैक्षिक सामाग्री र खानबस्नमा पनि सहयोग गर्नको अनुरोध गरेका छन् ।



karnalipress
६ पुष २०७८, मंगलवार १८:३२