
६ पुष ,कालीकोट – रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो ।
हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका प्रमुख काशिचन्द्र बराले जानकारी दिए । ‘कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा कालोपत्र तथा ग्राभेल हुने छ’, उनले भने, ‘एक वर्ष अवधिको सम्झौता रहेको छ । त्यही आधारमा कालोपत्रको काम एक वर्षमा सम्पन्न हुनेछ ।’
नगरपालिका भित्रैका नौ वटै वडासम्म सडक पुगेको र सबै वडामा सडक सञ्जालले जोडिएको उनले बताए । ‘क्रमशः सबै वडामा पुगेका ग्रामीण सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको छ’, उनले भने, ‘हामीले नौवटै वडामा आफ्नै नगरपालिकाले स्काभेटर(डोजर) मार्फत सडक निर्माणको काम गरिरहेका छौँ ।’
नगरपालिका क्षेत्रका बस्ती बस्तीमा सडक पुर्याउने योजना रहेको र समाजलाई सम्झाउन नसक्दा आफ्नो प्रतिबद्धता अनुसार काम हुन नसकेको नगर उपप्रमुख मिमसरा बमले बताईन ।
‘हामीले नागरिकसँग गरेका प्रतिबद्धता अनुसार नै काम गरिरहेका छौँ’, उनले भनिन, ‘हामीले ग्रामीण सडक मात्र निर्माण गरेका छैनौँ । त्यसको स्तरोन्नति र मर्मत सम्भारलाई त्यतिकै ध्यान दिएका छौँ ।’
जिल्लाका नौ वटा स्थानीय तह मध्ये ग्रामीण सडक कालोपत्र गर्ने पहिलो नगरपालिका भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याले बताए ।‘जिल्लाका प्राय सबै स्थानीय तहमा सडक पुगेका छन्’, उनले भने, ‘सवै स्थानीय तह मध्य रास्कोट नगरपालिकाले केहि गर्न लागेको देखियो तर यो दिगो र प्रभावकारी हुनु पर्छ।’
karnalipress
६ पुष २०७८, मंगलवार २०:१६