जुम्लामा हिमपात चिसो बढ्दै

नौरते नेपाली १४ पुष,जुम्ला। जुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा हिउँ परिरहेका कारण चिसो बढेको छ ।
चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोकमा आगो बालेको छ । चिसो बढेपछि चोकचोकमा आगो बाल्न जिल्ला वन कार्यालय र चन्दननाथ नगरपालिकाले समन्वय गरिरहेको छ ।

सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो ठाउँमा एक फिटसम्म हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ शाखा अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन, कोलखोली, विमानस्थललगायतका ठाउँमा आगो बालेर न्यानो गर्ने काम भएको छ ।

हिमपातले सडक तथा हवाई यातायात प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अत्यावश्यक नपरि गाडी नचलाउन सूचना प्रवाह गरिरहेको छ ।हिउँ परेसँगै कृषि बालीमा लाभ हुने भएको छ । हिउँ परेसँगै बाली सप्रिने भन्दै किसान  खुसी भएका छन्।

हिमपातले नागरिकको जनजीवन भने प्रभावित भएको छ । लगातार हिमपातका कारण चिसो बढेपछि मानिसहरू घरभित्र बसेका छन् । हिउँ परेपछि हिउँमा रमाउने पनि उत्तिकै रहेका छन् । धेरैले सामाजिक सञ्जालमा हिउँमा रमाएको तस्बिरसमेत सार्वजनिक गरेका छन् ।