सुरु भयो बडिमालिका तीर्थयात्रा

कालीकोट। कालीकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर पुनर्निर्माण गरिएको छ। नेपाले बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको हो। गत चैत २८देखि सुरु भएको मन्दिरको पुनर्निर्माण असार मसान्तमा सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए।

झन्डै दुई करोडको लागतमा मन्दिर निर्माण भएको छ। उक्त मन्दिर समुद्री सतहबाट करिब चार हजार २२० मिटर उचाइमा छ। २०५० सालदेखि नै मन्दिर पुनर्निर्माणका लागि पहल भएको थियो, तर काम भने हुन सकेको थिएन। प्राचीन स्मारक ऐन, २०१३ अनुसार मन्दिर निर्माण गरिएको छ।

मन्दिर निर्माण गर्न भौगोलिक विकटता, प्रतिकूल मौसमका बीचमा सेनाको सक्रियताले दुई महिनामै मन्दिर निर्माण भएको प्रवक्ता बस्नेतले बताए। पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याडसमेत निर्माण गरिएको छ।

सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकोप्टरमार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरेको जनाएको छ। सेनाले धार्मिक, ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको संरक्षणअन्तर्गत मन्दिर निर्माण गरेको हो। मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग गरिएको छ।

काठमा तराईको सालको काठ प्रयोग छ। बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्दछ। विगतका वर्षभन्दा अहिले धेरै आन्तरिक पर्यटकले बडिमालिका क्षेत्रको भ्रमण गर्ने आशा छ। बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नेपालका चार धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित रहेको छ।

बडिमालिका पुुगेका स्थानीयले पुनर्निर्माणपछि स्वर्गजस्तै देखिएको भन्दै खुसी व्यक्त गरिरहेका छन्। जनैपूर्णिमाको दिनमा स्वदेश र भारतबाट दर्शनार्थी आउने गरेका छन्। अछाम, बाजुरा र कालीकोट भएर बडिमालिका जाने गरिन्छ। बडिमालिका माईको दर्शन गर्नाले मनका इच्छा पूरा हुने भएकाले देश बाहिरबाट समेत दर्शनार्थी मेला भर्न आउने गर्छन्।

आस्थाको धरोहर

प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बडिमालिका सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालीकोटको संगमस्थलमा हो भने मुख्य पूजास्थान भने बाजुरा जिल्लामा पर्छ। हिन्दुहरूको आस्थाको धरोहर यति महत्वपूर्ण भगवतीको पीठ बडिमालिकामा मन्दिर निर्माणले धेरैलाई आकर्षित गरेको छ।

बडिमालिकाको जति चर्चा गरे पनि कम हुन्छ। धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ। बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने जनविश्वास छ। पुत्र नभएकाहरूलाई पुत्र प्राप्ति, धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ।

बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीबेती झन् अचम्मको छ। परापूर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्न तयार गरिएका जस्ता गह्रा, त्यसबीचमा फालिएका बिउका मुठा जस्ताका तस्तै हुन्छन्। उहिले भगवती र मैसासुर राक्षसको लडाइँ हुँदा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किम्वदन्ती रहेको बूढापाका बताउँछन्।

मेला अवधिभर भने त्रिपालमुनि अस्थायी होटलहरू सञ्चालन गरिएको हुन्छ। भक्तजनले बस्न पाल, टेन्ट, लत्ताकपडा बोकेरै आउँछन्। बडिमालिका समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा अवस्थित छ। बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाड, थुप्रै ससाना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ।

अग्लाअग्ला पहाडहरूमा उकालोओरालो गर्दै, कतै साँघुरा बाटा यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृश्यले मेटाउँछन्। युवादेखि ज्येष्ठ नागरिक पुस्ताका भक्तजन मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गर्न पनि भक्तहरू आउने गरेका छन्। बडिमालिकामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ। बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।

मेला लाग्ने समयमा हरियाली हुन्छ। रंगीचंगी फूल फुलेका हुन्छन्। लेकाली भेगमा पाउने विभिन्न जडिबुटी पाइन्छ। यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचार–प्रसार र प्रवद्र्धन नपुगेको सरोकारवाला बताउँछन्। यसकारण मेलाबाहेक समय पुग्नेको संख्या एकदमै कम हुने गरेको छ। भक्तजन तथा पर्यटकलाई आवतजावत सहजताका लागि सोता पाटनसम्म सडक निर्माण भइरहेको छ।

डोटीको ‘पेटारो’ जुम्लाको ‘डोली’

हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ। बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ। नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडिमालिका पुग्ने गर्छन्।

बडिमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्य जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हाल पनि कायमै छ। जुम्ला जिल्ला प्रशासन कार्यालयबाट चन्दननाथको डोलीसहित सरकारी टोली नागपञ्चमीका दिन बडिमालिकातर्फ प्रस्थान गर्ने परम्परा अहिले पनि छ।

बडिमालिका जात्रा सुरु, सरकारी टोली प्रस्थान

पूजाको डोली बोकेर कालीकोट, जुम्ला र डोटीबाट सरकारी टोली बाजुरास्थित बडिमालिका मन्दिर प्रस्थान गरेको छ। परापूर्वकालदेखि बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार तीन जिल्लाको सरकारी टोली शुक्रबार डोलीसहित बडिमालिका मन्दिरतर्फ लागेको हो।

जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार लक्ष्मीरुद धितालको नेतृत्वमा दशजनाको सरकारी टोली, मुख्य पूजारी हरिकृष्ण धमलासहित तीनजना पूजारी र अन्य स्थानीय बडिमालिका गएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयअगाडिको मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो।

जिल्ला प्रशासन कार्यालय अगाडिदेखि सुरु गरिएको बडिमालिका माइको पुकारपछि बडिमालिका जाने टोली अघि बढेको छ। यस्तै जुम्लादेखि जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पाँचजनाको सरकारी टोली र अन्य स्थानीय बडिमालिका गएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयअगाडिको दरबारमालिका मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो।

सेनाले बटुक भैरवनाथ, चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण गरेको थियो। जिल्ला प्रशासन कार्यालय अगाडिदेखि सुरु भएर जिल्ला प्रहरी कार्यालय जुम्लामा रहेको बडिमालिका माइको सलामीपछि बडिमालिका जाने टोली अघि बढेको हो। सरकारी टोली १८ दिनको पैदल यात्रापछि जुम्ला फर्किने छ।

हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ। बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ। नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडिमालिका पुग्ने गर्छन्।

बडिमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्य जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ।