कर्णाली प्रदेशमा पाँच नयाँ मन्त्री सपथ साँझ सात बजे

२३ माघ,सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषदले आज पूर्णता पाउँदैछ। मुख्यमन्त्री जीवनबहादुर शाहीले सपथ खाएको तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन्।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार आज बेलुका ७ बजे पाँच जना मन्त्रीहरूले सपथ लिँदैछन्। नेकपा(माओवादी केन्द्र)बाट दुई, नेपाली कांग्रेसबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट एकजना मन्त्री बन्दैछन्।

नेपाली कांग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्दैछन् भने यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्री बन्दैछन्। बुढाक्षेत्री यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा पनि सामाजिक विकास मन्त्री थिए। बुढाक्षेत्री सुर्खेतका हुन् भने शाही दैलेखका हुन्। शाही कांग्रेस कर्णाली प्रदेश सभा दलका सचेतक पनि हुन्।

यस्तै माओवादीबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बन्दैछन्। गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन लामा) उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री बन्दैछन्। समाजवादीबाट पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बन्दैछन्।यस अघि माओवादीबाट विन्दमान बिष्ट अर्थमन्त्री छन् भने समाजवादीबाट प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाही कृषि मन्त्री छन्। पाँच जना नयाँ मन्त्री थपिएपछि कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय हुनेछ।