कालिकोटमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

३ फाल्गुन,कालिकोट। सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। सुरुका बालबालिकाको नाममा आएको दिवा खाजावापतको रकम शिक्षक कर्मचारीको तलव भत्तामा खर्चिने गरिएको थियो। पछिल्लो समय यो रकम बालबालिकाका लागि खर्चिन थालेपछि यसको प्रभावकारिता बढ्दै गएको छ।

केही वर्ष अगाडी दरबन्दी कम र विद्यालय धेरै हुने भएकाले शिक्षकको तलव धान्न दिवा खाजा कार्यक्रमले कालीकोटमा ठुलो सहयोग गरेको थियो। दैलैपिच्छे विद्यालय खोल्दा शिक्षक दरबन्दी कम हुने र खोलिएका विद्यालयमा राखिएका कर्मचारीलाई पाल्न बजेट अभाव हुने भएकाले बालबालिकाको नाममा आएको दिवा खाजावापतको रकमबाट तलव खुवाउनु पर्ने बाध्यता थियो। अहिले भने त्यो बाध्यता हटेको पाइएको छ।

जिल्लाको रास्कोट नगरपालिकाले सबै विद्यालयमा रकम पठाएर खाजा खुवाउने गरेको छ। शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपाने ३० विद्यालय र ११ बाल शिक्षा गरी ४१ वटा विद्यालयमा प्रति विद्यार्थी २० रुपैयाँका दरले खाजा वापतको रकम पठाउने गरेको र कतै क्यान्टीनबाट कतै विद्यालयका परिचरले खाजा खुवाउने गरेको सुनाए। दिवा खाजा बाल शिक्षा देखि कक्षा ५ सम्मका बालबालिकाले पाउने गरेका छन्।

यस्तै खाँडाचक्र नगरपालिकाले पनि दिवा खाजा कार्यन्वयनमा ल्याएको छ। नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईले विद्यालय खुलेको समयमा विद्यार्थीले खाजा खाने र बन्द भएको बेला फिर्ता जाने गरेको बताए। जिल्ला भरीका नौ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको भेलाले सबै ठाउँमा एकरुप्ता ल्याउन छलफल भएको र सबै ठाउँमा कार्यन्वयन भईरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटले जनाएको छ।