कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर

६ फाल्गुन ,कालीकोट। ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रवार घुम्ती शिविर सञ्चालन गरिएको हो ।

शिविरमा पचास वर्ष भन्दा माथिका उमेर समुहलाई रक्तचाप, मधुमेहलगायत अन्य रोगको परीक्षण गरिनुका साथै कोभिड–१९ विरुद्धको खोप लगाइएको नि.स्वास्थ्य व्यवस्थापक डा.रत्न विर सुनारले जानकारी दिए ।

उक्त घुम्ती शिविरमा ६८ जनाको रक्तचाप परिक्षण ,५८ जनाको मधुमेह र ८९ जनालाई कोभिड १९-विरुद्धको खोप दिइएको छ । उक्त शिविर जिल्ला समन्वय समितिको कार्यालय अगाडिको खुल्ला मञ्चमा सञ्चालन गरिएको छ।