साँघुरो कर्णाली राजमार्गमा गाडी चलाउन समस्या

ललित बिष्ट फागुन २०,कालिकोट । लामो समयसम्म कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा गाडी चलाउन समस्या हुँदै आएको छ। वि.सं २०६३ सालमा जुम्ला पुगेको कर्णाली राजमार्गको सडकका कैयौं स्थानमा साँघुरो बाटो भएकाले गाडी चलाउन डर छ। साँघुरो बाटोले दुर्घटना समेत हुने गरेका छन्।

राजमार्ग साँघुरो हुँदा गाडी चलाउन  सबैभन्दा बढी समस्या हुने गरेको चालक भक्तबहादुर रावाले बताए। उनले साँघुरो सडकमा बाध्य भएर गाडीहरु गुडाउनु पर्दा धेरै पीडा हुने गरेको बताए। यो राजमार्गमा गाडी गुडाउने चालकहरु मात्रै होइनन् यात्रुहरुलाई पनि समस्या हुने गरेको छ।

पछिल्लो ३ वर्षदेखि कर्णाली राजमार्ग सुर्खेत-जुम्ला गाडी संचालन गर्दै आएका चालक रामबहादुर बिष्टले कर्णाली राजमार्गको धेरै खण्डमा गाडी क्रस हुने स्थान नभएका कारण जोखिम कायमै रहेको गुनासो गरे। उनले ठूला गाडी त क्रस गर्न आधा किलोमिटर ब्याक गर्नुपर्ने अवस्था रहेको बताए। तर सरकारले यति धेरै जोखिम राजमार्ग चाक्लो पार्ने काममा प्रथामिकता नदिएको चालकहरुको गुनासो छ। सुर्खेतदेखि जुम्लासम्मको २३२ किलो मिटरको कैयौँ स्थानमा जोखिम पनि छन्। त्यही ठाउँमा गाडी क्रस हुन नसक्ने स्थान पनि धेरै छन्।

कर्णाली राजमार्गमा ठूला सवारी तथा मालवाहक गाडी मात्रै होइनन् साना गाडीहरु समेत क्रस गर्न कठिनाइ हुन्छ। गाडीहरु क्रस गर्दा जम्काभेट हुने र पछाडि सर्न समेत रिसारिस गरिने भएकाले जता भेटियो त्यही क्रस गर्न प्रयासहरु गर्दछन् त्यसैमा दुर्घटना हुने डर रहने उनले बताए। सबैभन्दा बढी दैलेखको खिड्कीज्यूलादेखि सेरिगाडसम्म बढी साँघुरो सडक रहेको चालकहरुले बताउने गरेका छन्। मान्मदेखि जुम्लाकोे सीमा नाग्मसम्म पनि कैयौँ स्थानमा साँघुरो बाटोले हैरान बनाउने गरेको छ। यो सडकमा हिँड्ने गाडीहरु साँघुरो बाटोमा ठोक्किने डरले सताउँदै आएको चालकहरु बताउँछन्।

कैयौँ गाडीहरु आँखा अगाडी ठोक्किने गरेकाले यात्रुलाई पनि लामो समयदेखि त्रास हुँदै आएको यात्रुहरुले बताए। कर्णालीको भाग्य रेखाको रुपमा रहेको कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा तथा पहिले नै सडक साँघुरो काटिएका कारण अहिले सास्ती भोग्नु परेको र अहिले सम्म स्तरवृद्धिको प्रथामिकतामा नपरेको उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए।

उनले भने, ‘अहिले धेरै ठाउँमा टुक्रे योजनाहरु छन्। दैलेख खण्ड र कालिकोट खण्ड टुक्रे योजनामा सडक चाक्लो बनाइ रहेका छन्।’ कर्णालीको जीवन रेखाको रुपमा रहेको कर्णाली राजमार्गलाई स्तरवृद्धि गर्न ढिलाई भएका कारण राराताल जानेदेखि थुपै यात्रुले सास्ती भोगेका छन्। २०७८ को बजेट वक्तब्यमा एमालेको सरकारले सुर्खेतदेखि कालिकोटको खुलालुसम्म दुई लेनको बाटो बनाउन बजेट छुट्याएको थियो।