कालिकोटमा कालाजारका बिरामी बढ्दै

ललित बिष्ट फागुन २०,कालिकोट । तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरुमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाईबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।

कालिकोटमा हरेक वर्ष कालाजारका बिरामीहरु बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाउँछ। पलातार पचालझरना गाउँपालिकाकमा साथै रास्कोट र खाँडाचक्र नगरपालिकाभित्र कालाजारका बिरामीहरु धेरै फेला परेका छन्। कार्यालयको तथ्याङ्क अनुसार कालाजार बालबालिकामा धेरै देखिएको छ। चालू आर्थिक वर्षको हालसम्म कालिकोटमा कालाजारका १६ जना बिरामी फेला परेका छन्। ति मध्ये नौ जना पाँच वर्षमुनीका वालवालिका छन्।

कालिकोटमा तीन वर्षयता क्रमशः कालाजारका बिरामीहरु बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख रत्नवीर सुनारले बताए। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कालिकोटमा सात जना कालाजारका बिरामी फेला परेका थिए। पछिल्लो वर्ष २०७६/०७७ मा कालाजारका विरामीको संख्या २६ पुग्यो। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४३ जनामा कालाजार देखियो। चालू आर्थिक वर्षको हालसम्म १६ जना कालाजारका बिरामी फेला परेका छन्।

कार्यालयका सुचना अधिकारी कटकबहादुर महतले कालिकोटमा हरेक वर्ष कालाजारका बिरामी बढ्दै गएको बताए। ‘हामीसँग भएको तथ्याङ्क गम्भीर भएर अस्पतालमा आउनेहरुको मात्रै हो,’ उनले भने, ‘गाउँगाउँमा कालाजारका बिरामीहरुको संख्या धेरै हुन सक्छ।’ अघिल्लो आर्थिक वर्ष सुर्खेत रेफर गरिएका एक जनाको कालाजारका कारण मृत्यु भएको थियो। ज्वरो आउने, अनुहार कालो हुँदै जाने, पेट फुल्ने, तौल घट्दै जाने, फियो बढ्ने भएकामा तत्काल स्वास्थ्य संस्थामा आएर परामर्श लिनुपर्ने चिकित्सकहरु बताउँछन्।