
फाल्गुन २६,कालिकोट। शुभकालिका गाउँपालिका कार्यसम्पादनमा कालिकोट जिल्लाकै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा जिल्लाको शुभकालिका पहिलो बनेको हो। आयोगले आब ०७९–०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको लागी तोकिएका ११ वटा सुचकमा प्राप्त गरेको अंकसहितको प्रतिवेदन १८ फागुनमा सार्वजनिक गरेको थियो ।
सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये शुभकालिका गाउँपालिका कार्णाली प्रदेशकै तेस्रो भएको छ भने कालिकोट जिल्लाको पहिलो भएको छ । ७० दशमलब ४६ अंक ल्याएको हो ।
‘शुभकालिका गाउँपालिकाले प्रविधिमैत्री विद्यालयअन्तर्गत प्रत्येक विद्यालयलाई ल्यापटप, प्रोजेक्टर, कम्प्युटर वितरण, पोषणमैत्री गाउँपालिकाअन्तर्गत सुत्केरी तथा नवजात शिशुलाई पोषिलो पिठो, अण्डा, शुद्ध खानेपानीको लागि फिल्टर वितरण र सार्वजनिक कार्यालयमा पोषण कर्नर स्थापना, रेडियो शुभकालिकाको स्थापना, किशोरीसँग उपाध्यक्ष,अध्यक्ष जनता आवास कार्यक्रम, ५ वटा भैसी तथा ५० वटा बाख्रा पाल्ने किसानलाई भत्ता वितरण, कृषि क्षेत्रमा पकेट जोन तथा ब्लक स्थापन गरी सञ्चालन, बिपन्न तथा न्युन आय भएका र दलित समुदायमा निःशुल्क सोलार वितरण ,शुभकालिका गाउँपालिकालाई सरसफाईयुक्त पालिका बनाउन ‘एक घर एक धारा’ कार्यक्रम लागू गरेको, प्रत्येक वडामा स्वास्थ्य शेवाको पहुँच पुर्याउन स्वास्थ्य ईकाई स्थापना र सञ्चालन गरेको, महादेव मावी राराकाटीयामा प्राविधिक शिक्षा सुरुवात गरेको, २० वर्ष पुगेपछि मात्र बिवाह गर्ने किशोरीलाई रु ५ हजार पुरस्कारका साथै विद्यालयस्तरका छात्रालाई छात्रवृत्तिलगायतका महत्वपूर्ण काम गरेका कारण शुभकालिका गाउँपालिका कार्यसम्पादनमा जिल्लाकै पहिलो बनेको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चोलागाँईले बताए । उनले भने ‘शुभकालिका गाउँपालिकाको वडा नं १ र ५ बाहेक प्रत्येक वडामा मोटरबाटो पुगेको छ । प्रत्येक घरमा एक घर एक धारोको व्यवस्था गरेको छ ।
प्रत्येक विद्यालयमा भूकम्प प्रतिरोधी संरचनाको विकास गरेको र शुभकालिका गाउँपालिका– ८ मा रहेको भलेटागाड लघु जलविद्युत् आयोजना तथा वडा नं. ६ मा रहेको हाउडीगाड लघुजलविद्युत् आयोजनाबाट २ वडा विद्युतीयकरण भएको उनले बताए । अन्य वडामा राष्ट्रीय प्रसारण लाईन विस्तारको क्रममा चलिरहेको बताउँदै अध्यक्ष चौलागाँईले कोभिड–१९ बाट नागरिककलाई बचाउन गाउँपालिका अग्रपंतीमा रहेर काम गरेको र राराकाटीयामा विशेषज्ञ डाक्टरबाट सेवा दियको उनको भनाई छ ।’
शुभकालिकाले पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि पर्यटकीय क्षेत्र मेहेले रन्नाउले हाउडी देवलडाँडा हुदै कोटसम्म सडकबाटोको विस्तार गरेको छ । गाउँपालिकाले पुराना काठेपुल र तुइनलाई व्यवस्थापन गर्दै साना खोला र नदीमा आधुनिक झोलुंगे पुल विस्तार गरिसकेको शुभकालिका गाउपालिकाकी उपाध्यक्ष पम्फा शाहीले बताइन् ।
शुभकालिका गाउँपालिका कर्णाली प्रदेशमै कार्यसम्पादनमा दोस्रो र कालिकोट जिल्लाकै पहिलो हुनु खुशीको कुरा भएको बताउँदै यसमा सम्पूर्ण जनताको साथ र सहयोग रहेको शुभकालिका गाउँपालिकाका लेखा प्रमुख सर्पानन्द उपाध्यायले बताए । उनले भने ‘गाउँपालिकामा बनेका निती नियमको पुर्ण कार्यन्वयन र जनप्रतिनिधिहरुको सहयोग र स्थानीयवासीको हौसलाले काम गर्न सहज भएकै कारण उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको हो ।’
अहिले शुभकालिका गाउँपालिकामा सुत्रको पुर्णपालना हुनुका साथै सम्पूर्ण कारोबारो विद्युतीय लेखा प्रणालिबाट भइरहेको उपाध्यायको भनाई छ । कार्यसम्पादनमा उत्कृष्ट हुँदा काममा थप हौसला प्रदान भएको र आगामी दिनमा अझ धेरै जोस र जाँगरका साथ काम गर्न मन लागेको लेखा प्रमुख उपाध्यायले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले गाउँपालिकाको लागि धेरै खुशीको कुरा भएकाले कर्मचारीहरुमा थप जाँगर पलाएको भन्दै आगामी दिनमा अझ सक्रिय भएर काममा लाग्ने बताए ।
karnalipress
२६ फाल्गुन २०७८, बिहीबार २०:२०