दैलेखमा दुई वर्षपछि महोत्सव

चैत्र २७,दैलेख। जिल्लामा दैलेख पर्यटन महोत्सव आयोजना गरिएको छ। जिल्लाको पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो। जिल्लामा झण्डै दुई वर्षपछि महोत्सव सञ्चालन भएको हो। यसअघि २०७६ मा दैलेख सांस्कृतिक तथा घरेलु व्यापार महोत्सव सञ्चालन भएको थियो। त्यसयता कोरोना भाइरस (कोभिड–१९) को जोखिममा कारण महोत्सवहरु सञ्चालन हुन सकेको थिएन्।

दैलेख जिल्ला सदरमुकामको खुलामञ्च काँडाचौरमा सञ्चालन भएको महोत्सवको आयोजना स्वच्छ शहर निर्माण केन्द्र दैलेखले गरेको हो। महोत्सव शनिबार उद्घाटन गरिएको छ। जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले महोत्सव उद्घाटन गरेका हुन्। महोत्सव उद्घाटन समारोहमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष एवं गायक राजुकुमार खत्री लगायतको उपस्थिती थियो।

महोत्सव उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले मेला महोत्सवले जिल्लाको पर्यटन प्रवद्धनमा टेवा पुर्याउने बताए। रोहित ग्रुप अफ कम्पनी मुख्य प्रायोजक रहेको महोत्सवलाई च्यालेन्ज प्रकाशन प्रालि र अन्नपूर्ण इन्टरप्राइजेजले प्रायोजन गरेका छन्। महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तह, कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, कृषि विकास कार्यालय र  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रवद्धकको रुपमा रहेका छन्।

महोत्सवको पहिलो दिन चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगर, गायक राजु केसी लगायत स्थानीय कलाकारको बेजाड प्रस्तुती रहेको थियो। महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रियस्तरमा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

जिल्लाको सांस्कृतिक तथा ऐतिहासिकता झल्कने विभिन्न नाचहरु, लोकदेउडासमेत महोत्सवमा प्रस्तुत हुनेछन्। महोत्सवमा सय बढी स्टलहरु राखिएको छ भने बाल उद्यानको रमाइलो मेला, चर्खे पिङ लगाएतका थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन्। स्टलहरुमा जिल्लामा उत्पादित सामग्रीहरु प्रर्दशनी तथा बिक्री वितरणका लागि राखिएको छ।