जुम्लाका पाँच जना बालबालिकालाई नगद सहयोग

नौरते नेपाली, असोज ५ जुम्ला। जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ५ का ५ जना बालबालिकाले नगद रकम पाएका छन् । अति जोखिममा परेका बालबालिकालाई प्रति व्यक्ति ४ हजार नगद रकम हस्तान्तरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई र गुठीचौर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रवहादुर नेपालीको रोहबरमा रकम हस्तान्तरण गरिएको हो । वडा कार्यालयले सिफारिस गरेका पाँच जना अति जोखिममा रहेका बालबालिका, उनिहरुका अभिभावक र संरक्षकको उपस्थितिमा नगद रकम हस्तान्तरण गरिएको हो ।

युनिसेफ नेपालको सहयोग र किर्डाक नेपालको साझेदारीमा रकम हस्तान्तरण गरिएको हो । कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत अति जोखिममा परेको बालबालिकालाई नगद हस्तान्तरण गरिएको किर्डाक नेपालका मेल अफिसर किरण पौडेलले बताउनु भयो । उहाँका अनुसार अभिभावक नभएका तथा अति जोखिममा परेका बालबालिकालाई सहयोग गरेको बताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्न पाउदा आभारी भएको उहाँको भनाइ छ । पौडेलका अनुसार कर्णाली प्रदेश भरीका झण्डै २ सय बालबालिकालाई नगद सहयोग गरिने बताउनु भयो । स्थानीय सरकारसँगको समन्वयमा अति जोखिममा रहेका बालबालिकाको पढाईमा सहयोग गर्नको लागि रकम हस्तान्तरण गरिएको उहाँले जानकारी गराउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जोखिममा परेका बालबालिकालाई नगद सहयोग गरेकोमा आभार व्यक्त गर्नु भएको छ । आर्थिक अवस्था कमजोर भएका घर परिवारका बालबालिकाले प्राप्त गरेको रकमले मलहम् पट्टिको काम गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।

विवादित नहुने गरि वडाले गरेको सिफारिसबाट वास्तविक समस्यामा परेको बालबालिकाले नगद पाएकोमा उहाँले दातालाई धन्यवाद समेत दिनु भएको छ । कोरोनाले गर्दा विद्यालय जान नपाई घरमा बसेका बालबालिकाको पढाईमा आर्थिक सहयोगले टेवा पुराएको चौलागाईको भनाइ छ । दिनदुखी र राहत वितरण गर्दा छेउ लागेका परिवारका बालबालिका समेटिएको उहाँले बताउनु भयो । जुम्लामा पहिलो पटक बालबालिकाको हातमा नगद रकम हस्तान्तरण भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

गुठीचौर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रवहादुर नेपालीले पारिवारिक अवस्था कमजोर भएका बालबालिकाले सहयोग पाएकोमा खुसी भएको बताउनु भयो । अभिभावक विहिन बालबालिकालाई सहयोग गर्ने युनिसेफ नेपाल र किर्डाक नेपाललाई उहाँले कृतज्ञता प्रकट गर्नु भएको छ । आगामी दिनमा वडा भित्र रहेका गरिब बालबालिकालाई सहयोग गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

टुहुरा, एकल तथा घरको आर्थिक अवस्था नाजुक भएका बालबालिकाहरुलाई सहयोगको खाचो रहेको वडाध्यक्ष नेपालीको भनाइ छ । स्थानीय सरकारसँग स्रोत र साधन कमी भएकाले चाहेजति काम गर्न नसकिएको उहाँले बताउनु भयो । प्रत्यक्ष बालबालिकाको हातमा नगद रकम सहयोग गरेकोमा उहाँले धन्यवाद दिनु भएको छ ।

जुम्लाका अन्य स्थानीय तहका अति जोखिममा परेका बालबालिकालाई सहयोग गर्ने किर्डाक नेपालले जनाएको छ । पहिलो चरणमा गुठीचौर गाउँपालिका वडा नम्बर ५ का पाँच जना बालबालिकालाई सहयोग पाएका छन् । अति जोखिममा परेका अभिभावक गुमाएका बालबालिकालाई नगद रकम दिईएको हो ।

नगद रकम बुझ्न आउनु भएका विजमाया जैशीले पहिलो पटक नगद रकम पाउँदा मन प्रभुलित भएको बताउनु भयो । रकम बुझ्ने बेला आँखाबाट आँसु झार्दै उहाँले सहयोग गर्नेप्रति ऋणि भएको बताउनु भयो ।

घरको अवस्था कमजोर रहेको बताउँदै उहाँले पाल टाँगेर बस्नु परेको गुनासो सुनाउनु भयो । सहयोगि निकायलाई जैसीले आउदा दिनमा पनि सहयोग गरि दिन अनुरोध गर्नु भएको छ ।