
श्रावण १३, काठमाडौं । आफ्नो तटस्थता तोड्दै जेलमा रहेका रेशम चौधरी पनि जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । आधिकारिकता वि’वाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा चौधरी तटस्थ बसेका थिए । जसपाका नेता डम्बर खतिवडाले फोनमार्फत जसपामै रहने इच्छा चौधरीले व्यक्त गरेको जानकारी दिएका छन्।
‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्तगर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ फेसवुकमा उनले लेखेका छन्। चौधरीले तटस्थता तोडेसँगै यादव पक्षमा लाग्ने कार्यकारिणी सदस्यको संख्या ३५ पुगेको छ।
पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूल धारमा नै रहने निर्णय गरेका हुन् । पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । बैठकमा सहभागी जसपाका एक कार्यकारिणी समिति सदस्यले भने, ‘वहाँले म जसपामा नै रहेको जवाफ दिनुभयो ।’



karnalipress
१३ श्रावण २०७८, बुधबार २१:३६