कालिकोटमा नेत्रविक्रम चन्द समूहको उम्मेदवारी दर्ता

बैशाख १३,कालिकोट। चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालिकोटका ९ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि संविधानसभा सदस्यहरूसमेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् ।

रास्कोट नगरपालिका मेयरमा संविधानसभा सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् ।

खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक,तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडीले, विनीत सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरा उम्मेदवारी दिएका छन्नु ।

चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालिकोट प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।