ललित बिष्ट जेठ ३,कालिकोट । कालिकोटको खाडाचक्र नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमालेका जसीप्रसाद पाण्डे निर्वाचित भए। यो पटक उनी स्वतन्त्र उम्मेदवारसँग पराजित हुन पुगे। अघिल्लो निर्वाचनमा पाण्डेले २२०५ मत ल्याएर माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईँलाई पराजित गरेका थिए।
यो निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीबाट पराजित भए। शाहीले २ हजार ९१९ मत ल्याउँदा पाण्डेले २ हजार ६०९ मत मात्रै ल्याउन सके। उपमेयर गणेशबहादुर शाहीले २ हजार ९ सय २६ मत र उनका प्रतिस्पर्धी एमालेका मिना शाहीले २ हजार १ सय ३७ मत पराप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नगरपालिकाको वडा नं. १,४,५,६,७, र १० मा नेकपा माओवादी केन्द्र, ८ र ९ समाजवादी र ३ नं.वडामा नेकपा एमालेले जितेको छ ।
यसैगरी शान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका डम्मरबहादुर शाही निर्वाचित भए। यो पटक उनी स्वतन्त्र उम्मेदवारसँग पराजित हुन पुगे। माओवादी केन्द्रमा शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका मुम्राका मोहनबहादुर केसी महेशलाई टिकट नदिएपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गरी पुतली चुनाव चिह्न चुनाव लडेका केसीले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँहले १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।
karnalipress
३ जेष्ठ २०७९, मंगलवार ०७:४६