बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

 श्रावण१४   वीरगञ्ज ।बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिक टन गरी जम्मा ५२ हजार मेट्रिक टन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए । उनका अनुसार सुरुमा बङ्गलादेशले दिने ५० हजार मेट्रिक टन युरिया मलबाहेक थप दुई हजार मेट्रिक टन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिक टन मल केही दिनअघि नेपाल भित्रिएको हो ।

दुवै देशका सरकार बिच भएको सम्झौताअनुसार नेपाल सरकारले साउन महिनाभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भए पनि अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव नदेखिने प्रबन्धक केसीले जानकारि दिनुभयाे ।