खाद्य अधिकारको अवस्था सम्वन्धी अन्तरक्रिया सम्पन्न

असोज १७,कालिकोट ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना एवम् मानव अधिकार समूह खाँडाचक्रको नपाको सहकार्यमा आइतबार खाँडाचक्रमा खाद्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा खाँडाचक्र नपा पशु सेवा शाखाका प्रमुख पूर्ण गिरीले बजार अनुगमन र माशु पसलहरु अव्यवस्थित रहेका कारण महमारी फैलिने सम्भावना रहेको वताउनु भयो । उहाले खाद्य अधिकारमा  उपभोक्ताहरु  जागरुक भइ बजार अनुगमनका लागि सम्वन्धित निकायलाई दवाव दिनु पर्ने वताउनु भयो ।

यस्तै खाँडाचक्र नपा कृषि शाखाका प्रतिनिधि गगन टमाटाले नपाबाट कृषि सामाग्री तथा अनुदान वितरणका क्रममा जनप्रतिनिधिबाट राजनीति हस्तक्षेप हुने गरेकाले पाउनु पर्ने लक्षित वर्गमा सेवा सुविधा नपुगेकाले मानवन अधिकार समुह र इन्सेकले सवालको वारेमा वोल्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको उद्देश्य माथि प्रस्ट पार्दै इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले नेपालको संविधान ०७२ मौलिक हकमा दिएको खाद्य अधिकारलाई सुनिश्चित गराउनु राज्यको दायित्व र कर्तव्य भएको हुनाले आएका समस्या समयमै समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै हिमचुलि कृषि सहकारी संस्थाका कार्यकारी निर्देशक जगेन्द्र आचार्यले हिमचुली डेरीबाट उत्पादन गरिएको दहि दुध धेरैजसो कार्यलय र केहि व्यक्तिहरु जातीय विभेदका कारण नलिने समस्या रहेको बताउनुभयो ।

कार्यक्रमका उपभोक्त हित संरक्षण मञ्चका उपाध्यक्ष एवम पत्रकार विश्वनाथ सिम्खाडाले बजारमा खाद्यन्न समाग्रीको महँगी बढेको, खाद्य मिसावट हुने गरेको र चाडपर्व नजिकिँदै गर्दा बजारमा मिति नाघेका खाद्य सामग्रीहरू बिक्रि वितरण लगायत समस्याहरु रहेकाले स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राख्नु भयो ।