करार कर्मचारीको रोजगारी खोसियो

ललित बिष्ट साउन ३,कालिकोट । कर्णालीका धेरै जस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा करार कर्मचारीको भविष्य के हुने भन्ने प्रश्न उठन थालेको छ । आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरू हटाउन थाले पछि यस्तो समस्या आएको हो ।

करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको जनाउँदै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन्। करारमा लिइएका कर्मचारीसँग आगामी आर्थिक वर्ष २०७९\०८० देखि करार सम्झौता नगरिने जनाएका पालिकामा करार कर्मचारीले कार्यालयमा तोडफोड गरेका छन् । भने कतै तालाबन्दी गरीदिएका छन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका र पलाँता गाउँपालिकाले पनि करारका कर्मचारी हटाएका छन् । ११ असारमा कालिकोटको शुभकालिका गाउँ कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । त्यहाँ सोमबारदेखि कार्यालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् कामकाज ठप्प पारेका छन् । उनीहरूले पुर्नवहालीको माग गर्दै तालाबन्दी गरेका हुन् । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि करार कर्मचारीले कार्यालयमा तालाबन्दी गर्दा कामकाज ठप्प भएको स्थानीयले बताएका छन् ।

नरहरीनाथ गाउँपालिकामा स्वास्थ्यका मात्र ५४ जना कर्मचारी छन । उनिहरु सबैको रोजगारी खोसिएको छ । यस्तै जिल्लाको शुभकालिका गाउँपालिकाले पनि सबै करार कर्मचारीलाई हाजिर नहुन भनेपछि त्यहाँका स्वास्थ्य सस्थाहरुपनि पुरै खाली भएका छन । स्वास्थ्यका ३४ जना शिक्षाका ६२ र प्रशासन तर्फ र कार्यालय सहयोगी २४ जना गरी १२० जना करार कर्मचारीको रोजगारी खोसिएको छ । बिद्यालय बन्द भएकाले खासै प्रभाव पर्ने छैन । तर स्वास्थ्य सस्था र प्रशासन फाटका काम भने वन्द भएका छन्।

दैलेखको गुराँस गाउँपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ । दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १० औँ गाउँसभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड,केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरकार्यपालिकाको २७ असारको निर्णयअनुसार पालिका तथा पालिका मातहतका सबै कार्यालयका करार कर्मचारीको १ साउनदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । त्यहाँ पनि करारका कर्मचारी आन्दोेलनमा उत्रिएका छन् । करारका ९७ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय नगरकार्यपालिको बैठकले गरेको हो ।

दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । जागिरबाट हटाइएका करारका कर्मचारी तथा राजनीतिक दलहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर विष्टले बताए ।