बेवारिसे अवस्थामा फालिएःअक्सिजन सिलिन्डर

साउन १२,कालिकोट । कालिकोटमा कोरोना महामारीको चरम सङ्क्रमणका बेला सहयोगी संस्थाले दिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल बाहिर बेवारिसे रूपमा फालिएको छ ।

कालिकोटमा अक्सिजनको चरम अभावका बेला विभिन्न संस्थाहरूले अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराएका थिए । जिल्ला अस्पतालले नै अक्सिजन आफै उत्पादन गर्न सुरु गरेको थियो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रत्नवीर सुनारले बाहिर खुला ठाउँमा राख्दासमेत सिलिन्डर खराब नहुने भएकाले बाहिर थुपारिएको बताए । उनले अब ग्यास भरेर सरुवा रोग अस्पतालमा राख्ने तयारी भइरहेको पनि जानकारी दिए ।

अस्पतालको नयाँ भवन बनेका कारण कोठा खाली गरेर बिरामी राख्ने क्रममा खाली सिलिन्डर बाहिर राखिएको उनले बताए। उनले अस्पतालको भवन छिटो बनाउनका लागि कसैबाट समेत पहल नभएको गुनासो सुनाए ।

जिल्लामा ५० शैयाको अस्पताल निर्माण भइरहेको छ । पुराना स–साना भवनमा ओपीडी,अप्रेसन कक्ष, प्रसूति कक्ष,स्टोर,फार्मेसी चलाउन धेरै समस्या भएको अस्पतालले जनाएको छ ।