को बन्ला कर्णालीको मुख्यमन्त्री ? दौडमा छन् यी नेताहरु ।

 मंसिर १८, कालिकोट । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भयो । निर्वाचन सम्पन्न भएसँगैै कर्णालीमा मुख्यमन्त्री को बन्छ त भने विषयमा आम नागरीकको चासो विषय बनेको छ । निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि मुख्यमन्त्रीको टुंगो लगाउनु पर्ने हुन्छ । तर यो पटक भने कर्णालीमा सहजै तरिकाले मुख्यमन्त्रीको टुंगा लाग्ने आँकलन भने गर्न सकिन्न ।

कर्णालीमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा अहिले विभिन्न चियापसल, होटेल, रेष्टुरेण्ट, सडक-बाटो, पानीपँधेरोमा समेत चर्चा र टिकाटिप्पणी सुनिदै आएको छ । कर्णाली प्रदेशमा सरकार गठनका लागि गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बहुमत छ । बहुमत भए पनि अहिले नै मुख्यमन्त्री नेपाली कांग्रेस वा माआवोदी नै हुन्छ भन्न सकिने भने अवस्था छैन्।

कर्णालीमा मुख्यमन्त्रीमा तीनै दलबाट दुई-दुई जनाको दाबी रहेको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा र विन्दमान विष्ट तथा एमालेबाट यामलाल कँडेल र विनोदकुमार शाह मुख्यमन्त्रीको दौडमा रहेको विश्लेषकहरू बताउँछन्।

सुर्खेतबाट क्षेत्र नम्बर २ (क) बाट यामलाल कँडेल
सुर्खेत क्षेत्र नम्बर २ क बाट निर्वाचित भएका नेकपा एमाले कर्णाली प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य यामलाल कँडेल चुनावी निर्वाचित भएका छन् । ०७४ मै मुख्यमन्त्री बन्ने अपेक्षासहित प्रदेशमा निर्वाचन लडेका उनलाई पुनः मुख्यमन्त्रीकै दाबेदारका रूपमा हेरिएको छ । कँडेल ३ दशकअघि ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा आफूसँगै प्रतिस्पर्धामा होमिएका कांग्रेसका कालिप्रसाद शाक्यलाई पराजित गरेका थिए भने यसपटकको निर्वाचनमा पनि कंडेलले शाक्यलाई १६१ मतान्तरले पराजित गरेका हुन्।

अघिल्लो निर्वाचनमा नै मुख्यमन्त्री बन्ने प्रवल सम्भावना हुँदाहुदै पनि तत्कालिन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको अन्तरद्धन्दका कारण कंडेलको मुख्यमन्त्री बन्ने आकांक्षा पुरा हुन सकेन् । साथै यसपटक मुख्यमन्त्री बन्ने आकांक्षाले कडेल पुनः प्रदेश सभाको उम्मेदवार बनेका थिए र निर्वाचित पनि भएका छन्।

सुर्खेत क्षेत्र नम्बर २ (ख) बाट विन्दमान विष्ट
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । माओवादीका विष्ट पनि मुख्यमन्त्रीका दाबेदार हुन् । प्रदेश सभा ख बाट दोस्रोपटक निर्वाचित उनी प्रदेश सरकारको पर्यटनमन्त्री र अर्थमन्त्री भइसकेका छन् । विष्ट मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका थिए । नेता विष्टले चुनावको दौडधुप कार्यक्रममा आफू भावी मुख्यमन्त्रीको दौडमा रहेको संकेत गरेका थिए । कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको हुँदा उनि मुख्यमन्त्री हुन्छन् कि भनेर आम नागरिकले आशंका गर्ने गरेका छन् ।

हुम्लाबाट बाहालवाला मुख्यमन्त्री जीवनबहादुर
कर्णालीका बाहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाको प्रदेशसभा ख बाट उम्मेदवार बनेर निर्वाचित भईसकेका छन् । तत्कालिन नेकपाको दुईतिहाइ बहुमत हुँदा समेत नेकपा विभाजनका कारण मुख्यमन्त्री बन्ने अवसर पाएका कांग्रेस नेता शाही यसपटक सत्ता गठबन्धनको बलमा निर्वाचन लडेका थिए । अहिले मुख्यमन्त्री हुँदै गर्दा बाँकी रहेका काम पूरा गर्न र चुनावपछि पनि सरकारको नेतृत्व गरेर प्रदेशमा स्थायीत्वको सन्देश दिन पनि उनी प्रदेशमा उम्मेदवार बनेका हुन् । उनी मुख्यमन्त्रीमा पुनः दोहोरीने दाउँमा रहेका छन् । उनी यसअघि हुम्ला जिल्ला विकास समितिको सभापति, पर्यटनमन्त्री र हुम्लाबाट तीनपटक सांसद भइसकेका छन् ।

जाजरकोटबाट राजिव विक्रम शाह 
जाजरकोट प्रदेशसभा ख बाट निर्वाचित राजीवविक्रम शाह पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन । उनलाई पनि मुख्यमन्त्रीको दावेदारका रुपमा हेरीएको छ ।

दैलेखबाट विनोद कुमार शाह
दैलेख क्षेत्र नम्बर ख बाट भने एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भएका छन् । २०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका विनोद राजाको पालामा राज्यमन्त्री भएका थिए । अहिलेसम्म लाभको पदमा पुग्न नसकेका उनी गणतन्त्र स्थापनापछि पहिलो पटक निर्वाचित भएका हुन् । शाह नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष रहेका छन् ।

रुकुमबाट राजकुमार शर्मा
२०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा रुकुम पश्चिम ख बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार थिए । शर्माले १२ हजारको फराकिलो मतान्तरले जित हाँसिल गरेका छन । शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका व्यक्ति हुन् । शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन ।