
पुस २१,कालिकोट। भौतिक विकासको पूर्वाधारका दृष्टिले पछाडि परेको कालिकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्दैछ। कालिकोटमा जलविद्युतका क्षेत्रमा करिव ९२ अर्ब रूपैयाँ लगानी गर्ने तयारी भएको छ।
यहाँ तीन ठूला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी छ। जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन्। यी सबै आयोजना बनेमा एक हजार पाँच सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन्।
आयोजनाका लागि ९२ अर्ब तीन करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण थालेको पाँच वर्षमा आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ। सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट एक किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन सुरुङमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ।
कालिकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरू छन्। यसको उत्पादनले कालिकोटको मात्र नभएर देशकै समृद्धिका आधारका रूपमा सहयोग पु¥याउने देखिन्छ। जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरू भए पनि तिनीहरूको उपयोगिता हुन
सकेको छैन।
कूल चार सय ८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), निर्माणका लागि स्वीकृति र विद्युत् उत्पादनका टेष्ट टनेल खोल्ने काम भइसकेको छ। यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ।
आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए। ‘फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पूरा भइरहेको छ, उनले भने, लगानीको मोडालिटी टुङ्गयाउन बाँकी रहेको छ।’
आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ। आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन्। यस आयोजना निर्माण भएमा जिल्लावासीले सेयर पाउनुका साथै रोजगारीसमेत सिर्जना हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए। ‘यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएका छौं। आयोजना निर्माणको काम अगाडि बढ्दा स्थानीयवासी निकै उत्साहित भएका छन्– उनले भने।
जिल्लाको तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता आठ सय ६० मेगावाट क्षमताको रहेको छ। तिला–१ को विद्युत् उत्पादन क्षमता चार सय २० मेगावाट र तिला–२ को चार सय ४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ। खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ।
दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले लिएको छ। नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ।
दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडि बढ्न नसकेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताताए। यी आयोजनाबाट कालिकोटका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए। दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन (डिपिआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ।
कालिकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको छ। कालिकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान हुने भएको हो।
प्राधिकरणले कालिकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायत माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजना निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले जानकारी दिए। उनले भने, ‘यो चार सय केभी प्रसारण लाइन कालिकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो।’
प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालिकोटमा जग्गा खरिद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ। कालिकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब १६ अर्ब रूपैयाँ लगानी लाग्ने प्राधिकरणले जनाएको छ।
कालिकोटमा निर्माण हुने यी आयोजना बनेमा कालिकोट तथा कर्णालीको समृद्धि आधार हुने स्थानीयले बताएका छन्। यी आयोजनाबाट कालिकोटका हजारौँ युवायुवतीले रोजगारी, विद्युत्मा लगानी गर्ने अवसर पाउनेछन्।
karnalipress
२१ पुष २०७९, बिहीबार ०७:२२