
पुस २१,काठमान्डौं,
– केशव प्रसाद वजगाई । साउथ एसियन फेडेरेसनको आयोजनामा भारतको दार्जेलिङमा साउथ एसियन च्याम्पियनसिप सम्पन्न भएको छ । नेपाली समयअनुसार पुष १४ देखी १८ सम्म भएको प्रतियोगितामा कराते, किकवक्सीङ, जोमसार, भलिबललगायतका खेलहरु समावेश भएका थिए । उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत एसियाली देशहरुको सहभागिता रहेको थियो । पाँचदिनसम्म चलेको प्रतियोगितामा, नेपालले किकवक्सिङ तथा करातेतर्फ सहभागिता जनाएको थियो ।
नेपालबाट साम्देन तामाङ ‘किकवक्सीङ’ र सरिता सापकोटाले ‘कराते’ मा खेलाडीहरुको नेतृत्व गरेर दार्जेलीङतर्पm गएका थिए । किकवक्सीङ र कराते गरी नेपालबाट करिव ३३ खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा विभिन्न देशका भेषभूषामा सजिएका खेलाडी तथा कलाकारले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । सहभागी देशका राष्ट्रियगान सँगै शुरु भएको प्रतियोगितामा भारत ३४ गोल्ड मेडल सहित पहिलो, नेपाल २५ गोल्ड मेडल सहित दोस्रो र बंगलादेश १६ गोल्ड मेडल सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।
विभिन्न चरणमा गरी गराइएको प्रतियोगितामा जोमसार (खुकुरी जुधाउने) खेल मुख्य आकर्षकको रुपमा रहेको थियो । उक्त खेल हालसम्म ३५ देशहरुमा दर्ता भई भारतको विभिन्न विद्यालयमा अनिवार्य रुपामा खेलाइने गरेको आयोजकले बताए । शिरुपाते खुकुरी, गोर्खा र गोर्खालीको शान हो । यसलाई विश्वव्यापी बनाउन, नेपालले पहिलो र महत्वपूर्ण भूमिका खेल्नुपर्ने साउथ यसियन फेडेरेसनका प्रमुख अर्पण सिंहले बताए । साथै उनले यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध अझ प्रगाढरुपमा स्थापित गराउने भन्दै जोमसार खेलले गोर्खा र गोर्खालीको शानलाई विश्वसामू परिचित पार्ने धारणा राखेका थिए ।
साथै उक्त प्रतियोगितामा सुनमाया तामाङ (सृजना), अविशेक लामा, आरोन सिङ श्रेष्ठ, मोहन सापकोटा, सुसान श्रेष्ठ, संजीर वाइवा लामा, आर्यन रावल, अनिस मैनाली लगायतले नेपालका लागि गोल्ड मेडल प्राप्त गरेका थिए । वर्षेनी एसियाका विभिन्न देशमा विभिन्न खेलको प्रतियोगिता सञ्चालन गर्दै आएको, साउथ यसियन फेडेरेसनले आगामी फेब्रुअरी ९ देखि ११ सम्म नेपालमा फुटबल प्रतियोगिता सम्पन्न गर्ने फेडेरेसन सदस्य एवं नेपाल प्रमुख साम्देन तामाङले जानकारी दिएका थिए ।



karnalipress
२२ पुष २०७९, शुक्रबार १५:१५