प्याड लिन किशोरीको हातमा स्मार्ट कार्ड

ललित विष्ट माघ ९,कालिकोट । किशोरावस्था सुरु हुँदै गर्दा महिलामा महिनावारी सुरु हुन्छ । अघिकांश बालिकाहरुको स्कुल पढ्दै गर्दा महिनावारी सुरु हुन्छ । कालिकोटको शुभकालिका गाँउपालिका वडा नं. ३ स्थित जनज्योति माध्यामिक विद्यालयमा अध्यायनरत छात्रा सरिता अधिकारीलाई विद्यालयमा पाइने निशुल्क सेनेटरी प्याड माग्न लाज लाग्थ्यो । विद्यालयमा महिला शिक्षक भए पनि उनले शिक्षकसँग प्याड चाहियो भन्न सहजै सक्दिन थिन्। विद्यालयमा पाइने सेनेटरी प्याड लिन सधै सकस हुन्थ्यो ।

अहिले उनको विद्यालयमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन जडान गरीएको छ । उनको हातमा सेनेटरी प्याड लिनका लागि स्मार्ट कार्ड छ । यो कार्डले उनलाई प्याड लिन निकै सहज भएको छ । उनी भन्छिन्, ‘गाँउपालिकाले विद्यालयमा प्याड निकाल्ने सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखिदियो । हामीलाई कार्ड दिएको छ । चाहिएको बेलामा निकाल्न सहजै सकिन्छ ।’

उनी मात्र नभइ विद्यालयमा अध्यायनरत अन्यलाई पनि उस्तै समस्या थियो । छात्रा बिपना अधिकारीले भनिन् ‘विद्यालयमा प्याड माग्न लजाउने,गाँउमा मेडिकलहरु पनि छैनन् । बजार पनि नजिक छैन । घरमा पुराना कपडाहरु धोएर प्याडको रुपमा प्रयोग गरी महिनावारी हुँदा विद्यालय जानुपर्ने बाध्यता थियो ।’ अहिले उनलाई पनि प्याडको समस्या छैन ।

विद्यालयले किशोरीहरुको पायक पर्ने ठाँउमा गाँउपालिकाबाट प्राप्त सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखेको छ । मेशिनबाट प्याड निकाल्ने स्मार्ट कार्ड दिएको छ । जो कोही छात्रालाई प्याड आवश्यक पर्दा उनीहरु बैंकमा एटिएम हालेजस्तै त्यो स्मार्ट कार्ड हाल्छन् । प्याड निकाल्छन्। विद्यालयकी छात्रा सुनिता चौलागाँइले भनिन््, ‘पालिकामै दोश्रो पटक हाम्रो विद्यालयमा सेनेटरी प्याड निकाल्ने मेशिन राख्यो । हामीलाई ठुलो राहत भयो ।’

शुभकालिका गाँउपालिकाले उपाध्यक्ष छात्रा शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड वितरण गर्नकालागि विद्यालयमा भेन्डिङ्ग मेशिन जडान गरिएको हो । जनज्योति मा.वि मा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखिएको छ । गाँउपालिका उपाध्यक्ष धर्मा शाहीले भनिन्, ‘समाज परिवर्तनकोलागी हाम्रो अभियान भन्ने नाराका साथ पालिकाका ५ वटा माध्यामिक विद्यालयहरुमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राख्दैछौँ । जनज्योति मा.वि मा राखेको मेशिनले किशोरीहरुलाई प्याड लिन निकै सहज बनायो । त्यसैले यो वर्ष गाउँपालिकाका ५ वटा विद्यालयमा मेशिन राख्न खरिद गरेर पालिकामा पुगिसकेको छ । अब बाँकी माध्यामिक विद्यालयहरुमा पनि जडान गर्छौँ । पालिकालाई समृद्ध बनाउन र निर्वाचनमा गरेका बाचा पुरार्गदै जनताको हितमा कामगर्दै आएको छौं ।’

उनले आफूहरुले ‘गुणस्तरीय शिक्षा प्रदान गर्न,छात्रालाई विद्यालयमा नियमित गर्न,यसको महत्व र स्वास्थ्य शिक्षालाई नियमित गर्न,महिनावारी भएको बेला छात्रालाई विद्यालयमा सहजरुपमा सहभागि हुन भन्ने उदेश्य रहेको बताइन्। अब कुनै पनि छात्राहरु महिनावारी हुँदा विद्यालय आउनबाट नरोकिने उल्लेख गदै विद्यालयहरुलाई हामीले छात्र,छात्रामैत्री विद्यालय बनाउने अभियानमा छौँ । सबै बालवालिकालाई विद्यालय जाऔंजाऔं भन्ने वातावरण यहाँका शिक्षक र अभिभावकले गर्ने हो । भने बालवालिकाको सिकाइस्तरमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विश्वास रहेको प्रधानाध्यापक राजेन्द्र चौधरीले बताए । कालिकोट जस्तो दुर्गम जिल्लामा छाउपडी व्यप्त रहेको र छात्रा महिनावारी हुँदा विद्यालयमा नआउने,लजाउने र विद्यालयमा महिनावारी हुँदा पढ्दापढ्दै भागेर जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनले बताए ।

मेसिन जडान कार्यक्रममा सहभागी शिक्षा विकास तथा समन्वय ईकाई कालिकोटका प्रमुख प्रकाशचन्द्र धितालले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला विद्यालय छाड्नपर्ने किशोरीहरूको बाध्यता हट्ने बताए । उनले भने ‘सेनेटरी प्याड र महिला शौचालय नभएकै कारण महिनाको चार दिन छात्राहरूले विद्यालय छोड्नुपर्ने बाध्यता कम गरी छात्राहरू नियमित विद्यालय आउने वातावरण बन्ने विश्वास लिएको छु।’

सेनेटरी प्याडको व्यवस्था नहुनु,उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेका थिए । प्रहरी प्रमुख जयश्वर रीमाले भने ‘महिनावारी भएकाबेला विषेश गरी खानपीन र स्वास्थ्यमा सहयोग गनुपर्ने बताए । उनले भने ‘महिनावारी भएका आफ्ना दिदिबहिनीहरुलाई पुरुषहरुले सेनेटरी प्याड किनेर दिनपर्छ । महिनावारी भनेको श्रृटिको एक चक्र भएकाले एसलाई समाजको अन्ध विश्वासले रोक्न नहुने बताए ।

प्रमुख जिल्ला अधिकारी रामहरी र्शमाले विद्यालयका गुणस्तरीय शिक्षा प्रदानको लागी पालिकाले भौतिक पुर्वाधार पुर्णरुपमा तयार गनुपर्ने बताए । उनले भने ‘विद्यालय एक पबित्र मन्दिर हो । यो मन्दिरमा आउने विद्यार्थिलाई विद्यालयमा जाऔजाऔ लाग्ने विद्यालय तयार गर्ने योजना बनाएर काम गर्न पालिकालाई सुझाव दिए । उनले भने पालिकाकाकै सबै विद्यालयको भौतिक संरचना तयार गर्दा ईन्जिनेरीङ गनुपर्छ। हरेक विकासको काममा पनि सार्वजनिक सुचना पार्टी राख्न अनुरोध गदै शिक्षा क्षेत्र अहिले दयानीय अवस्थामा रहेको हुदा यो शिक्षा क्षेत्र सुर्धान गर्न र बालवालिकाको शैक्षिक सुधारमा विषेश जोड दिन उनले सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघ कालिकोटका कार्यबाहाक अध्यक्ष नमराज योगीले गाउँमा हुने महिनावारी छुवाछुत,बालविबाहजस्ता जघन्य अवराध रोक्न बालवालिकाको महत्वपुर्ण भुमिका रहेको बताए । उनले गाउँमा आफ्नो छोरी महिनावारी हुँदा छाउगोठमा राख्ने दही दुध खान नदिने जस्ता कार्य अभिभावकले गर्न नहुने बताए । उनले भने महिनावारीका बेला सबैले सहयोग गर्नुपर्छ। स्वास्थ्य सरसफाईमा विषेश ध्यान दिन सकेमा महिनावारी भएकाबेला हुने छुवाछुत जस्ता विभेद कम हुने बताए ।