
ललित विष्ट माघ १०,कालिकोट । एउटै कोठामा धेरै कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता । पालिकाले आन्तरिक रुपमै केहि शिक्षक नियुक्ती गरे पनि अझै अपुग छ । विद्यालय पुग्नै घण्टौं लाग्छ । विद्यालयमा आवासीय सुविधा पनि छैन । यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक । सबै जनालाई एकै कोठामा राखेर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ । भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन, शैक्षिक सामग्री पनि छैनन्।
शुभकालिका गाउँपालिका –३ भर्तास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । ७ सय २० जना विद्यार्थी पढ्ने गरे पनि भवन अभावमा कक्षा १ र २ तथा कक्षा ३ र ४ का विद्यार्थी एउटै कोठामा पढ्छन्। नियमित विद्यालय आउने विद्यार्थी २ सय २० जनाको हाराहारीमा मात्रै रहेको छन्।
‘भर्ना हुने विद्यार्थी संख्या धेरै छ तर न कक्षाकोठाको प्रबन्ध गर्न सकिएको छ, न शिक्षक छन् । १२ कक्षासम्म पढाइ हुने भए पनि शिक्षकको दरबन्दी कमै छ,’ प्रध्यानध्यापक राजेन्द्र चौधरीले भने । ‘शिक्षक दरबन्दी नहुनुले कक्षाकोठा अभाव रहेकामा पनि ठिकै मान्नुपरेको छ । धेरै कोठा भएको भए पढाउन गाह्रो हुने थियो ।’ गाउँपालिकाले थप एक शिक्षकको व्यवस्था गरिदिएको भए केही सहजता थपिने थियो । विद्यायमा शौचालय,खेलमैदान खानेपानीको पनि चरम अभाव छ ।
भर्ताकै कालिका माध्यमिक विद्यालयको पनि उस्तै छ अवस्था पढाइ १० कक्षा सम्म हुने गर्छ । पर्याप्त कोठा नहुँदा २ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ । यो विद्यालयमा पढ्ने विद्यार्थीमध्ये धेरैजसो दिवा खाजा खान पाउने आशले पढ्न आउने गरेको स्थानीय बताउन्छन्।
सरकारको दिवा खाजा कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समितिले विद्यालयमै खाजा तयार गरी खुवाउने गरेको छ । सरकारले प्रति विद्यार्थी दैनिक २० रुपैयाँ नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । यहाँ ४५ मिनेट पैदल यात्रा गरेर पनि विद्यार्थी पढ्न आउँछन् ।
जिल्लाकै अर्को विकट गाउँपालिका पलाँता–६ स्थितदेउली आधारभुत विद्यालयको अवस्था पनि उस्तै छ । शिक्षक संख्या कम छ । ५ कक्षा सम्म विद्यार्थी पढाउँदै आएका छन्। ९८ जना विद्यार्थीलाई एकसाथ धान्न हम्मे पर्छ । विद्यालयमा भवन अभाव छ। शिक्षाको पनि अभाव छ। खानेपानी खेलकुद त परको कुरा भयो। पलाँता गाउँपालिका भित्र ३६ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये ६ वटा माध्यमिक, दुईवटा उच्च मावि छन् । अरु सबै आधारभूत विद्यालयको अवश्था उतै हो ।
‘शिक्षककै अभावमा विद्यार्थीहरूको सिकाइ अन्तर कमजोर छ,’ स्थानीय एक अभिभावकले भने, ‘पालिकाले आफ्नै खर्चमा राखेका शिक्षकको संख्या अपुग छ । अग्रेजी, विज्ञान र गणित पढाउने नै छैनन् ।’ पालिकाले शिक्षामा जोड दिएकै छैन । शिक्षाको गुणस्तर बढ्न सकेको छैन् ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने ‘दुर्गमका विद्यालयमा क्षमता भएका शिक्षकहरू नै आउन मान्दैनन्, जसले गर्दा विद्यार्थीको क्षमता र ज्ञानको दायरा विस्तार हुन सकेको छैन,’ उनले भने । ‘यस्तो अवस्थामा पढेर पिछडिएको वर्ग कसरी माथि उठ्न सक्छ ? राज्यले यस्तो समुदायलाई माथि उठाउन थप कदम चाल्नुपर्छ ।’
समाजलाई सकारात्मक परिवर्तनको प्रत्याभूति दिलाउने मुख्य अंङग शिक्षाको अवस्था नै नाजुक रहेको स्थानीयले बताउँछन् । संङघीयताले दुर्गम एवं विकट क्षेत्रमा बसोबास गर्ने आदिवासी र जनजाति समुदायलाई छुन सकेको छैन।
शिक्षा विकास तथा समन्वय ईकाई कालिकोटका प्रमुख प्रकाशचन्द धितालले माथिल्लो तहबाट विद्यार्थी अनुसार दरबन्दी उपलब्ध नगराइएकाले शिक्षक अभाव देखिएको बताउँछन् । ‘सहर बजारका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी धेरै छ, जसलाई कटौती गरेर दुर्गममा पठाउन सकिएको छैन,’
विद्यालयमा कम्प्युटर विषय भए पनि विद्यार्थीहरुले कम्प्यटर देख्न मात्र पाउने गरेका छन्। विद्यालयमा सोलार ब्याकपको व्यवास्थापन नहुदा विद्यार्थिले चलाउन पाएका छैनन्। दुर्गमका विद्यालयमा यो समस्या सबै विद्यालयको हो। पालिकाहरुले विद्यालय सुधारकोलागी बजेट नपठाउे गरेको शिक्षकहरुको आरोप छ । यो समयमा शिक्षा क्षेत्रमा लगानीगर्न नसकेको स्थानीयको आरोप छ ।



karnalipress
१० माघ २०७९, मंगलवार १८:१३