ग्रामीण सडकमा चर्को भाडा असुली

ललित विष्ट चैत्र २,कालिकोट । नरहरिनाथ गाउँपालिका-४ का गणेश बुढालाई नजिकको लालिघाट बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कुमलगाउँबाट नजिकको बजार लालिघाट नै हो। कुमलगाउँबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने लालिघाटमा जीपमा जाँदा एक घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु पाँच सय ५० असुलगर्दै आएका छन्। ‘सानोतिनो सामान ल्याउन लालिघाट बजार पुग्नैपर्छ’, उनले भने,‘लालिघाट पुग्न बाटोमै झण्डै रु सात सय सकिन्छ ।
हामीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?’

नरहरिनाथ गाउँपालिका-२ कोटबाडाकी जुनिता भण्डारालाई पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउन्छिन । ‘घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् ।

प्रतिवाद कसैले गर्दैैनन् ।’ उनका अनुसार जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । ‘कति दिन लालिघाट बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो’, उनले भनिन् , ‘जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिएर जुन ठाउँबाट चढे पनि रु पाँच भन्दा तल लिँदैनन् ।’

नरहरिनाथमा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । लालिघाट-धारी सडकमा प्रति किलोमिटर २२ रुपैयाका दरले भाडा निर्धारण गरिएको थियो। पछि सडक बिग्रेको,डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन । स्थानीयका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । लालिघाट बजारदेखि कुमालगाउँसम्म करिब ९ किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले पाँच सय असुल्दै आएका छन् ।

‘जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । ९ किलोमिटरमा आदि बाटोमा गाडी चढे पनि रु पाँच सय भन्दा बढी असुल्छन् । ९ किलोमिटर सडकमा जीप व्यवसायी छत्र विष्टले जीप भाडा अलि बढी नै भएको स्वीकार्नु छन् ।

८ देखि १० वटा गाडी चल्ने गरेका छन्। ‘जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।’ उनले भने सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनी बताउन्छन्। ‘गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ ।

ग्रामीण सडकमा चल्ने गाडीले मनपरी गर्न थालेको यो नयाँ घटना नभएको स्थानीयको भनई छ। जिल्लाको रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका लगाएतका स्थानीय तहमा चर्को भाडा असुली गर्ने गरेको स्थानीयले बताएका छन्।