वडाअध्यक्षहरुले बुझाए वडा कार्यालयको छाप र रातो कलम

ललित विष्ट बैशाख १६,कालिकोट। कालिकोटको खाँडाचक्र नगरपालिकाका ११ वटै वडाअध्यक्षहरुले वडा कार्यालयको छाप र रातो कलम नगरपालिकाको न्यायिक समिति संयोजकलाई बुझाएका छन्। असार मसान्त आउनै लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिने गरेको,सेवाग्राहीले सेवा पाउन नसकेको,दैनिक कामसुरु नभएको लगायतका समस्या समाधान गर्न न्यायिक समिति संयोजक एवम नगर उपप्रमुख गणेबहादुर शाहीलाई सम्वोधन गर्दै उनिहरुले उक्त समस्याको तत्काल समाधान गर्न चेतावनी युक्त भाषामा छाप र रातो कलम बुझाएका हुन्।

काम काजगर्न असहज नभएको भन्दै वडाअध्यक्षले उपमेयर गणेशबहादुर शाहीलाई छाप र कलम बुझाएका हुन्।वडाअध्यक्षहरुले बारम्बार नगरपालिकाका समस्या समाधानका लागि पहलगर्न नगरप्रमुखलाई भनेको भयपनि सामाधान हुन नसक्दा छाप र रातो कलम बुझाएका हुन्। ‘अहिलेसम्म हामी वडाअध्यक्षहरुको कुनैपनि माग सुनुवाई भएन । हामीले जनताको पक्षमा काम छिटो गरौं भनेर भन्दा पनि काम सुरु हुन नसकेको अवस्था आयो ।’ वडाअध्यक्ष बिरिजित विष्टले भने,‘अहिले मेयर कमल बहादुर शाही बाहिर हुनु भएकाले उहाँ आइसकेपछि शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृतलगायत बस्ने भन्ने कुरा भएको छ। उक्त बसाईपछि समस्या समाधान हुने अपेक्षामा हामी छौं ।’

समस्या समाधान नभएको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी अहिले नै त्यो निष्कर्षमा पुगेका छैनौं । जनताले सहज रुपमा सेवा पाउने अपेक्षा हामीले गरेका छौं ।’ उनले भने, ‘यदि माग सम्वोधन नभएको खण्डमा भने हामी त्यसपछि आवश्यक कानूनी प्रक्रिया अवलम्बन गर्छौं ।’

यता,नगरप्रमुख कमल बहादुर शाहीले हालसम्म बारम्बार प्रयास गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नआइपुगेको बताए । ‘अहिले काम चलाउका लागि शिक्षाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेका छौं । लेखा अधिकृत पनि हुनुहुन्न ।’ सुर्खेतमा एक कार्यक्रममा सहभागि हुन आएका प्रमुख शाहीले भने, ‘हिजो दिउसो तीन बजेसम्म यस्तो कुरा केहि थाहा थिएन । छाप र रातो कलम बुझाएको कुरा मैले सामाजिक सञ्जालबाट थाहा पाएको हो ।’

उनले यो समस्या समाधान हुने बताए । ‘जनताको सेवा गर्न आएका हामीले जनतालाई पीर मर्का पर्ने गरि राजनीति गर्दैनौं । म कालिकोट एक दुइ दिनमा फर्किन्छु । यो समस्या समाधान हुन्छ ।’ उनले भने, ‘वडा कार्यालयको छाप नै बुझाउनु भने राम्रो होइन । के भएको हो म बुझिरहेको छु ।’