
ललित विष्ट
असार २३, कालिकोट ।
जिल्लाको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन्।
ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगरपालिका र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो ।
गाउँमा फैलिएको बिमारले बुधबार १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको थियो भने अन्य बिरामी परेका थिए । प्रयोगशालामा नजाँचिकन रोग यकिन गर्न नसकिने चिकित्सकको भनाइ छ । रोगले महादेव मावि रुडुका १ सय ३० सहित गाउँका अन्य गरी १ सय ७८ जना बिरामी परेको बिहीबार विद्यालयले नगरपालिका र जिल्ला सदरमुकाममा खबर पठाएको थियो ।
गाउँमा महामारी फैलिएको जानकारी आएपछि तिलागुफा नगरपालिकाबाट नगर अस्पतालका डा. टंकप्रसाद आचार्य, जिल्ला अस्पताल मान्मका डा. रामानन्द चौधरी, डा. डण्डप्रसाद नेपालसहितको स्वास्थ्यकर्मीको टोली शुक्रबार गाउँ पुगेको हो ।‘
‘गाउँभर बिरामी छन्। औषधि दिने काम भइरहेको छ,’ तिलागुफा नगर अस्पतालका डा. आचार्यले भने । उनले बेलुका ६ बजेसम्म ३ सय ११ जना बिरामीको परीक्षण गरेर औषधि दिएको भन्दै अझै बिरामीको भीड रहेको जानकारी दिए । शिविर शनिबार पनि संचालन हुनेछ ।
गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए ।
उनले अधिकांश बिरामीहरू महिला र बालबालिका रहेको जानकारी दिएका छन् । शुक्रबार १ सय ९४ महिला र १ सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ । जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका २ सय ६ जना छन्। उनले भने बिरामी धेरै भए पनि नियन्त्रण बाहिर नरहेको सुनाउँदै सबै बिरामीमा एकै खालको लक्षण भएको बताए ।
यस्तै स्वास्थ्य शिविर संचालन भएको महादेव माविमा शुक्रबारदेखि पढाइ बन्द गरिएको प्रधानाध्यापक भरतबहादुर सिंहले बताए । उनका अनुसार शनिबार पनि विद्यालयमा स्वास्थ्य शिविर संचालन हुनेछ ।
सदरमुकाम मान्मबाट १८ कोष पूर्वदक्षिणतर्फ पर्ने रुडु गाउँ विकट मानिन्छ । सदरमुकाम मान्मबाट ३५ किमी कर्णाली राजमार्गको सडक हुँदै भैंसेगौडाबाट ६ घण्टा पैदल उकालो हिँडेपछि यहाँ पुगिन्छ ।
सदरमुकाम र नगर अस्पताललबाट टोली बिहीबार खटिएको भए पनि शुक्रबार बिहान मात्र गाउँ पुगेको तिलागुफा १० का वडाध्यक्ष मुनबहादुर थापाले बताए ।



karnalipress
२३ असार २०८०, शनिबार ०८:००