
ललित विष्ट पुस ५,कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत कालिकोट देखि जुम्ला खण्ड स्तरोन्नती भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । कालिकोटको दहीखोला देखि नाग्म हुँदै जुम्ला बजारसम्म १०४ किलोमिटर सडक खण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।
कालिकोटको दहीखोला देखि नाग्म हुँदै जुम्ला बजार सम्म सडक स्तरोन्नतिको काम भइरहेको जुम्ला स्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए । ‘राजमार्गमा सडकको नियमित कामसँगै सडक पुनरस्थापनाको काम थालिएको छ’, उनले भने, ‘६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार पुस मसान्तमा काम गरिसक्नु पर्छ । अहिले कामले गतिलिदै छ ।’
सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि रु ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए । उनले पहिला गएको बाडिपहिरोले भत्काएको सडक पुनरस्थापनाको लागि बजेट बिनियोजन भएर आएको र अहिले काम भएको उनको भनाई छ ।
‘साँघुरा सडक फराकिलो बनाउने,पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्’, उनले भने, ‘बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने ठाउँमा अहिले मर्मत गर्ने गरिएको छ ।’ आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ । कालिकोटमात्र नभएर दैलेख खण्डमा पनी राजमार्ग मर्मतको कार्यसुरु भएको छ । अहिले मर्मले गर्दा केही सास्ती भएको यात्रीहरुले बताएका छन्।
राजमार्ग मर्मले पछि धेरै राम्रो हुने खाँडाचक्र १ का स्थानीय दिपक शाहीले बताए । उनले भने ‘सडक फराकिलो,ग्याबिन वाल,र चट्यानी भाग फुटाउने कामले निरन्तरता पाएको छ । तर बर्सेनी गरीने मर्मत भन्दा सरकारले कर्णाली राजमार्गलाई दिगो विकासको लागी कामगर्ने गरी बजेट बिनियोजन गर्न आश्यक छ ।’ मृत्यृ मागको उपनामबाट चिनिने राजमार्गलाई चौडा बनाएर दिगो विकास गर्नसके मात्र कर्णाली राजमार्गमा हुने दुर्घटना र मृत्यृमार्गको उपनाम बाट मुक्त हुन सक्ने उनको भनाई छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि सञ्चालनमा आएको थियो । साँघुरो,हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको थियो । सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ ।
कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालिकोटसम्म स्तरोन्नति र मर्मतको काम सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ ।विगतका वर्षहरुमा भन्दा यो वर्ष सडक दुर्घटना पनी कम भएको पाईन्छ । सडकको दैलेख खण्डमा पनी मर्मतका माक सुरु भईरहेका छन्।
राजमार्ग पुनरस्थापनामात्र नभई सडक कालोपत्रेको लागी सरकारले बजेट छुटाउन सके कर्णालीको लागी दिगो विकासमा टेवा पुग्ने जानकारहरु बताउन्छन्। राजमार्गलाई दुईलेनको बनाउन सडको चट्यानी भागलाई छिचोल्न सकेमा जोखिम यात्र र दुर्घटना कम हुने स्थानीयको भनाई छ ।
karnalipress
५ पुष २०८०, बिहीबार ०८:३५