रास्कोटमै पाउन थाल्यो ‘नुन’

ललित विष्ट, मान्म । पाँच पाकेट नुनका लागि अढाई हजार रुपैयाँ खर्च गरेर कालिकोटको सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको छ। रास्कोट नगरपालिकाले नगरको केन्द्र आरसपी बजारमा डिपो स्थापना गरेर नगरवासीलाई नुन वितरण गर्न थालेपछि वषौदेखिको नुनको पीडाबाट रास्कोटवासीले मुक्ति पाएका हुन्।

नागरिकता र मालपोतसँग सम्बन्धित कामबाहेक अन्य सबै काम नगरपालिकामै हुन थालेपछि रास्कोटवासी सदरमुकाम मान्म जान छाडेका थिए। ‘नुनकै लागि ६ घण्टाको यात्रा गरी २ हजार खर्च गरेर सदरमुकामको डिपोसम्म पुग्नुपर्ने अवस्था थियो, यस्तो पीडाबाट मुक्ति मिलेको छ,’ रास्कोटका अनुरुद्ध सञ्ज्यालले भने, ‘बल्ल गाउँमा पनि सिंहदरबार आएको महसुस भएको छ, अहिले पैसा भएपछि सबै थोक गाउँमै पाइन थालेको छ।’

उनीमात्र होइनन्, नगरपालिकाबाटै नुन लिन पाउँदा धेरैमा खुसीको सीमा छैन। विगतमा नुनकै लागि एक महिनाको पैदल बाटो हिँडेर राजपुर कटासे गएको दुवैले बिर्सेका छैनन्। अढाई हजार खर्च बचाउन सफल भएका छन्

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा नगरपालिकामा पनि आयोडिनयुक्त नुन डिपो स्थापना गरेपछि अहिले यहाँका नागरिकले नुन पाउने गरेको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले बताए।

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको शाहीले बताए। ‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ मेयर शाहीले भने, ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमै नुन डिपोको स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए। ‘आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा ३ हजार रुपैयाँ खर्च हुने गरेको थियो, त्यहाँ गएर पनि एक जनाले पाँच किलो मात्रै नुन पाउँथे,’ प्रशासकीय अधिकृत बमले भने, ‘प्रतिकिलो ९ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हटेको छ।’

महिनामा एकपटक नुन दिने गरेको रास्कोट नगरपालिका नुन डिपोले जनाएको छ। मात्र ३ सयभन्दा बढीलाई नुन वितरण गरिएको शाखा डिपोले जनाएको छ।