सान्नी त्रिवेणीले ल्यायो ४१ करोडको बजेट

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ। “कृषि, पर्यटन, जल–जंगल हाम्रो पहिचान; शिक्षा, स्वास्थ्य, रोजगार हाम्रो मौलिक सान” भन्ने मूल नाराका साथ सम्पन्न गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।

गाउँपालिकाले शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। अध्यक्ष मोहन बहादुर केसीका अनुसार, गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिने, उत्कृष्ट कार्य गर्ने शिक्षकलाई सम्मान गरिने नीति लिइएको छ।

कृषिमा उत्पादन वृद्धि गर्न बाँझो जमिनमा समूह बनाएर खेती गर्नेहरूलाई अनुदानसहित प्रोत्साहन गरिनेछ। साथै, पालिकालाई डिजिटल बनाउने, खेल मैदान निर्माण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, र पेपरलेस प्रशासन प्रणाली लागू गर्ने योजना रहेको छ।

गाउँपालिका उपाध्यक्ष पार्वति सिंह संज्यालका अनुसार, आगामी वर्षका लागि कुल ४१ करोड ९२ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमध्ये ३२ करोड ८१ लाख ७२ हजार चालु खर्च र ९ करोड १० लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी विकास, विपद् व्यवस्थापन, दलित लक्षित कार्यक्रम, शहीद तथा बेपत्ता परिवार सम्मानजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ। आन्तरिक राजस्वबाट ४७ लाख २५ हजार संकलन गर्ने लक्ष्य लिइएको छ।

गत वर्ष विनियोजन गरिएको ३९ करोड ६१ लाख बजेटमध्ये ५७.४ प्रतिशत अर्थात २२ करोड ७३ लाख रुपैयाँ खर्च भएको रिपोर्ट गरिएको छ। जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीले नीति तथा कार्यक्रमलाई यथार्थमा कार्यान्वयन गर्न सुझाव दिँदै सफल गाउँसभाको शुभकामना व्यक्त गरे।